Tuesday, April 1, 2025
Homeमनोरन्जननेपाली फिल्म किराना पसल हो : प्रदीप खड्का

नेपाली फिल्म किराना पसल हो : प्रदीप खड्का

नायक प्रदीप खड्काले नेपाली फिल्म उद्योगमा व्यवसायिक दृष्टिकोणको कमी भएको बताएका छन्। ‘कर्णाली अन्तर्राष्ट्रिय महोत्सव’ सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले फिल्म क्षेत्रलाई ‘किराना पसल’ शैलीमा चलेको भन्दै व्यंग्य गरेका छन्।

उनले भने, “जुन दिन फिल्मलाई व्यवसायिक दृष्टिकोणले हेर्ने गरिन्छ, त्यो दिन धेरै कुरा परिवर्तन हुन्छ। अहिले फिल्म क्षेत्र पारिवारिक व्यापारजस्तो बनेको छ। किराना पसलजस्तै, जहाँ बिहान बुबाले पसल चलाउनुहुन्छ, दिउँसो आमाले, अनि बेलुका बच्चाबच्चीहरूले। यसरी फिल्म क्षेत्रलाई पनि चलाइएको छ।”

प्रदीपले नेपाली फिल्म क्षेत्रमा निर्देशक, निर्माता र कलाकारहरूको परिवारजन नै सहभागी हुने प्रथाको चर्चा गर्दै भने, “आमा निर्देशक, बुबा निर्माता, छोराछोरी नायक–नायिका।”

प्रदीपले नेपाली फिल्म उद्योगलाई कर्पोरेट प्रणालीमा ढाल्नुपर्नेमा जोड दिए। उनले भने, “फिल्म क्षेत्रमा कर्पोरेट शैलीको व्यापार हुन सके लगानीकर्ता फाइदा–घाटाको आधारमा लगानी गर्न प्रेरित हुन्छन्। व्यवसायिक सोच बिना फिल्म क्षेत्रको प्रगति असम्भव छ।”

हलमा देखिएको शो वितरणको समस्या समाधानका लागि पनि उनले आफ्ना सुझाव प्रस्तुत गरे। उनले भने, “शुक्रबार र शनिबार भए पनि नेपाली फिल्मलाई ३०–३५ प्रतिशत शो आरक्षण दिने हो भने विवाद हुँदैन। एउटा पर्दा हुने हलले एक दिनमा कम्तीमा एक शो दिनै पर्छ। २–३ पर्दा भएका हलले त्यही अनुसार शो दिनुपर्छ। यसो गर्दा समस्या समाधान हुन्छ।”

कार्यक्रममा प्रदीप खड्काको भनाइले फिल्म क्षेत्रलाई सुधार गर्न व्यवसायिक सोच र कर्पोरेट प्रणाली आवश्यक रहेको सन्देश दिएको थियो।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू