१६ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सई लक्ष्मणप्रसाद यादवलाई ठक्कर दिएर ज्यान लिने गाडी मदिरा तस्करीमा संलग्न रहेको खुलेको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले मदिरा तस्कर समूहको गाडीले ठक्कर दिंदा सई यादवको ज्यान गएको जानकारी दिए । सिरहाको बरियापट्टी गाउँपालिका–१, कचनारी छोट्की टोलस्थित सीमा इलाका बोर्डर आउट पोस्ट (बीओपी) बाट सई यादवको कमाण्डमा गस्ती टोली खटिएको थियो । यो बीओपी प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा मातहत पर्छ ।
यादवको कमाण्डमा पाँच जनाको गस्ती टोलीले आइतबार बिहान ३ बजेर १० मिनेट जाँदा स्कर्पियो गाडीमा मदिरा तस्कर भएको देखेको थियो । मोटरसाइकलमा गस्ती रहेको सई यादवको टोलीले नेपाल प्रहरीसमेतको संयुक्त टोलीले उक्त गाडीलाई पछ्याएको थियो ।
सो क्रममा मदिरा तस्कर समूहको स्कर्पियोले सई यादवलाई ठक्कर दिएर भारततर्फ फरार भएको थियो। स्कर्पियोको ठक्करबाट गम्भीर घाइते भएका सई यादवलाई नेपाल रेडक्रस सोसाइटी कचनारी उपशाखाको एम्बुलेन्समा राखी ३:४५ बजे प्रादेशिक अस्पताल लहान पुर्याइएको थियो। अस्पताल पुर्याएको १५ मिनेटपछि ४ बजे नै सई यादवको मृत्यु भएको सहप्रवक्ता थापाले बताए ।
घटना भएपछि उक्त स्थानमा नं. ७ गणबाट १७ जनाको सशस्त्र प्रहरीको टोली खटिएको थियो । ४८ वर्षीय सई यादव सिरहाकै नरहा गाउँपालिका–४ ललभितियाका स्थानीय हुन् ।
यादवको तस्कर समूहको ठक्करबाट मृत्यु भएपछि आफन्तहरूले आइतबार बिहान प्रदर्शन समेत गरेका थिए । बिहान पौने ९ बजे आफन्तहरू लहान नगरपालिका–३ हस्पिटल चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भेला भएर टायर बाल्दै प्रदर्शन गरेका थिए ।
गाडी नियन्त्रणमा लिएर कारबाही गर्ने सहमति भएपछि बिहान साढे १० बजे सडक सञ्चालनमा आएको छ । यता सई यादवको शव पोस्टमार्टम सकिएको र परिवारलाई हस्तान्तरण गर्न लागिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पण्डितले बताए ।
‘पोस्टमार्टमपछि फौजी परम्पराअनुसार सलामीको काम सकिएपछि शव परिवारलाई बुझाइनेछ,’ एसपी पण्डितले भने ।
२ जना पक्राउ
सई यादवको मृत्यु भएपछि अनुसन्धान अघि बढाएको सिरहा प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । सिरहा एसपी पण्डितले पनि दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताए ।
‘अहिले दुई जनालाई नियन्त्रणमा लिएर प्रारम्भिक छानबिन अघि बढाएका छौं । अनुसन्धानकै क्रममा रहेकाले उनीहरूलाई सार्वजनिक नगरिएको हो,’ एसपी पण्डितले भने ।
सई यादवलाई ठक्कर दिने सवारी साधन स्कर्पियो भन्ने निश्चित भए पनि उक्त सवारी भारतीय वा नेपाली नम्बर प्लेटको भन्ने पहिचान खुलेको छैन । एसपी पण्डितका अनुसार राति भएकाले सीसीटीभीको सहायताले सवारी बार यकिन गरे पनि नम्बर प्लेट भने अझै खुल्न सकेको छैन ।
तस्करको समूहले स्कर्पियोको पहिचान नहोस् भनेर नम्बर प्लेटसमेत प्रष्ट नराखेको एक अनुसन्धान अधिकृत बताउँछन् । ‘सीसीटीभी फुटेजबाट गाडीको पहिचान गरेका छौं । तर नम्बर प्लेट स्पष्ट देखिंदैन । कतिसम्म भने नेपाली प्लेट हो कि भारतीय भन्नेसम्म खुल्न सकेको छैन’ ती अधिकृतले भने, ‘त्यसैले यो समूहले कारबाहीबाट बच्न पूर्वयोजना अनुसार काम गरेको देखिन्छ ।’
मदिरा तस्करकै समूहबाट एसएसबीका जवानको पनि हत्या
सशस्त्रका सई यादवको मात्रै होइन २ वर्षअघि मदिरा तस्करकै समूहबाट एसएसबीका जवानले समेत ज्यान गुमाएका थिए । २०७९ भदौ १३ को राति मदिरा तस्कर समूहले नेपालबाट भारतर्फत मदिरा तस्करी गर्दै थियो ।
सिरहा नगरपालिका–२१ लगडिगोठबाट मदिराले भरिएको स्कर्पियो जीप तीव्र गतिमा जोगिया हुँदै जयनगरतर्फ जाँदै गरेको सूचना एसएसबीले पाएको थियो । भारतको मधुवती जिल्ला दलनीया प्रहरी चौकी अन्तर्गत जोगिया गाउँ प्रवेश गरेको मदिराले भरिएको उक्त जीपलाई एसएसबीका हेड कन्सटेबल देवराज शर्माले रोक्न खोजेका थिए ।
तर त्यो स्कर्पियो हेड कन्सटेबल शर्मालाई किच्दै अगाडि बढ्यो । एसएसबीका कन्सटेबल शर्माले घटनास्थलमै ज्यान गुमाए । त्यतिबेला भारतीय पक्षले सशस्त्र प्रहरीकै ‘सेटिङ’ मा भारततर्फ घरेलु मदिरा तस्करी हुने गरेको आरोप समेत लगाएको थियो । त्यतिबेला सशस्त्रको सिरहा एसपीको रूपमा रमेशकुमार थापा थिए ।
अहिले फेरि त्यस्तै प्रकृतिको घटना सिरहामा दोहोरिएको छ । अहिले भने सिरहामा सशस्त्रका एसपी नरेश भण्डारी छन् । यसअघि सिरहामा तस्करी भएको विषयमा १६ असोज २०८० मा सशस्त्र प्रहरी हेडक्वाटरले एसपी प्रमोद भारतीको जिम्मेवारी खोसेको थियो ।
नेपालबाट भारततर्फ हुँदै थियो मदिरा तस्करी
तराईका सीमा नाकाबाट भारततर्फ मदिरा हुने गरेको विषय भारतीय पक्ष (एसएसबी)ले हरेक पटक उठाउँदै आएको छ । बीओपी कमाण्ड तथा सम्बन्धीत प्रदेशका बाहिनीपतिहरूसँगको छलफल भेटघाट र अन्तक्रियामा हरेक पटक यो विषय एसएसबीले उठाउँदै आएको छ ।
सशस्त्र प्रहरी स्रोतका अनुसार १ र २ मंसिरमा काठमाडौंमा भएको सीमा सुरक्षा बैठकमा समेत भारतीय पक्ष बोर्डर क्षेत्रका घरेलु मदिरा उत्पादन र बिक्रि वितरणमा रोक लगाउनुपर्ने मुद्दा उठाएको थियो ।
‘नेपालमा मदिरा उत्पादन गर्ने र भारतमा लगेर बिक्री वितरण गर्दा यसले अपराध मौलाएको भन्दै भारतीय पक्षले यो विषय हरेक वर्ष उठाउँदै आएको छ । यसपटक पनि भारतीय पक्षले यही विषय उठाए पनि कुनै निर्णय भने हुन सकेन,’ सशस्त्र प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो ।
भारतको एसएसबीका महानिर्देशक अमृतमोहन प्रसाद नेपालको ९ सदस्यीय टोलीले सशस्त्र प्रहरी बलका आईजी राजु अर्यालका साथै गृह, परराष्ट्र र राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारीहरूसँग अन्तक्रिया गरेको थियो ।
भारतीय पक्षले भनेजस्तै आइतबार राति सशस्त्र प्रहरीलाई ठक्कर दिएको स्कर्पियो नेपालबाट भारततर्फ मदिरा बोकेर जाँदै थियो । उक्त स्कर्पियोको नम्बर अहिलेसम्म खुल्न सकेको छैन ।
नेपाल र भारतबीच हरेक वर्ष एसएसबीका प्रमुख र सशस्त्र प्रहरी बलका महानिरीक्षकबीच सीमा सुरक्षाबारे बैठक हुनेगर्छ । आलोपालो हुने उक्त बैठक अघिल्लो वर्ष भारतमा भएको थियो भने यसपटक काठमाडौंमा । उक्त बैठकमा भारतीय पक्षले मदिरा नियन्त्रणको विषय उठाएको थियो ।