साउन ११ गते । महालक्ष्मी नगरपालिका –५ स्थित शिवरात्रिमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । घर जल्दा करिब १ करोड दुईलाख २७ हजार बराबरको क्षति भएको बताउनुभयो ।
आगलागिबाट स्थानीय यज्ञबहादुर खड्का, श्रीचन्द्र बुढाथोकी र सूर्यबहादुर श्रेष्ठको घरसहित धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो ।
यज्ञबहादुरको किराना पसल, सुनलगायत धनमाल जल्दा करिब ४० लाख ७३ हजार बराबरको क्षति भएको घरधनिको भनाइ छ । यस्तै, श्रीचन्द्रको घरसहित धनमाल जल्दा करिब २५ लाख ५४ हजार रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
सूर्यबहादुरको घरसहित धनमाल जलेर नष्ट हुँदा करिब ३६ लाख रुपियाँ बराबरको क्षति भएको घरधनिले अनुमान गरी दाबी गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) महर्जनले जानकारी दिनुभयो ।
नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । बिहीबार दिउँसो लागेको आगलागीको कारण खुलेको छैन ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।