म्याग्दी, पुस ८ गते । म्याग्दीको बेनीमा जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । पुस २० गतेदेखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक नगरपालिका सहित ६ स्थानीय तहका खेलाडीहरुको सहभागिता रहने छन् ।
आइतबार बिहान जिल्ला खेलकुद विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी थालिएको जानकारी दिएको छ ।
पालिका स्तरमा सञ्चालन भएका अन्तर मावि स्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु जिल्ला स्तरीय प्रतियोगितामा भाग लिने खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो।
प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्शल आर्ट विधाका विभिन्न खेलहरुमा ६६ स्वर्ण, ६६ रजत र ६६ कास्य पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा प्रथम हुने पालिकालाई नगद २० हजार सहित रनिङ शिल्ड, प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरिने छ । त्यस्तै दोस्रो र तृतीय हुनेलाई क्रमशः नगद १५ हजार, १० हजार, मेडल, प्रमाणपत्र र ट्रफी वितरण गरिने अध्यक्ष केसीले बताउनुभयो ।
प्रतियोगिता सञ्चालनलाई विभिन्न उपसमितिहरु गठन गरी तयारी थालिएको उहाँले बताउनुभयो । प्रदेश खेलकुद परिषदबाट रनिङ शिल्ड आइसकेको उहाँले जानकारी दिनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशीकाले तोके बमोजिमका सबै खेलकुदहरु प्रतियोगितामा समावेस गरिने उहाँले बताउनुभयो ।