आज मिति २०८१।०१।०३ गते दिउँसो १३:०० बजेको समयमा कीर्तिपुर नगरपालिका वडा नं. ०३ खाशीबजार स्थितमा रहेको शहिद कीर्ति भवनको हलमा यस कार्यालयको वडा एरियामा रहेका औषधि पसल व्यवसायीहरुसँग प्रहरी वृत्त कीर्तिपुरका कार्यालय प्रमुख प्रनाउ भुवनेश्‍वर प्रसाद साहज्यूबाट लागु औषध तथा अपराध रोकथाम र नियन्त्रणमा औषधि व्यवसायीहरुको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको ।

लागु पदार्थ भनेको के हो ?

  • मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ ।यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ ।
  • कानूनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो ।
  • विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरिरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको छ।
  • लागु औषध नियन्त्रण ऐन 2033 को दफा 3 मा लागु औषधलाई
    • गाँजा
    • औषधोपयोगी गाँजा
    • अफिम
    • तैयारीको अफिम
    • औषधोपयोगि अफिम
    • कोकाको झार र पात र
    • अफिम तथा कोककाको सारतत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने कुनै पदार्थ।
    • नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकर्तिक वा कृत्रिम लागु औषध तथा मनोदिपक पदार्थ (साइकोट्रपिक्स सब्स्टान्स) र तिनको लवणहरू तथा अन्य पदार्थ समेत सम्झनु पर्दछ भनि परिभाषित गरिएको छ।

लागु ‍औषध कति प्रकारका हुन्छन् ?

मुख्य गरेर लागु पदार्थहरूलाई दुई भागमा बिभाजन गरिएको छ ।

  • प्राकृतिक लागु पदार्थः- प्राकृतिक रुपमा उम्रने वा मानिसद्धारा उत्पादित पदार्थहरू जस्तै– गाजा, चरेस, भाङ्ग, धतुरो, अफिम, रक्सी, आदिलाई प्राकृतिक लागु पदार्थ भनिन्छ ।
  • औषधि जन्य लागु पदार्थः– मानव जीवन रक्षाको लागि निर्मित औषधिजन्य पदार्थहरू जसलाई चिकित्सकको सल्लाह विपरित नशा लिनको लागि प्रयोग गर्दछन् त्यसलाई औषधिजन्य लागु पदार्थ भनिन्छ । जस्तैः- नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सीभोन,, नोर्फिन, कोडिन, कोरेक्स, फेन्सीडिल, फेनकोडिन नो–कफ आदि ।

लागु ‍औषध प्रयोगका कारणहरू के-के हुन ?

नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण 2076 का अनुसार लागु औषध दुर्व्यसनका कारणहरू देहाय अनुसारका रहेको पाइयोः

  •  साथीसँगीको दबाब
  • मनोरञ्जनका लागि
  • उत्सुकता
  • खुसी हुन
  • मानसिक तनाव
  • पारिवारीक समस्या
  • डिप्रेसन
  • पढार्इमा समस्या

लागु ‍औषध प्रयोगकर्तामा कस्ता कस्ता लक्षणहरू देखिन्छन् ?

लागु औषध प्रयोगकर्ताहरूमा देहाय अनुसारका कुनै वा सबै लक्षणहरू देखिन सक्दछन।

  • एकान्तमा बस्न रुचाउने ।
  • असमान्य व्यवहार देखाउने ।
  • दुव्लाउदै जाने ।
  • पढ्न मन नगर्ने ।
  • अपराध कर्ममा लाग्ने ।
  • धन सम्पतिको बरबादी तिर लाग्ने ।
  • समाजमा बिभिन्न प्रकारका अपराधहरू घट्दै जाने ।
  • सामाजिक मुल्य र मान्यताहरू भतकिदै जाने ।

लागु औषधका असरहरू के-के हुन्छन् ?

लागु पदार्थको सेवनबाट हुने असरहरूलार्इ देहाय अनुसार उल्लेख गर्न सकिन्छ।

  • शारीरिक असरः- एच.आई.भि.÷एड्स, हेपाटाईटिस तथा यौनजन्य रोगहरू संक्रमण हुने, तौल घट्ने, शरीर दुब्लाउने, खानामा रूचि नहुने, ओभरडोज भएर मृत्यु समेत हुने  ।
  • मानसिक असरः- एकोहोरोपन, फ्रस्टेसन, डिप्रेशन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको श्रृजना, आत्महत्या गर्न प्रेरित हुने ।
  • पारिवारिक तथा सामाजिक असरः- पारिवारिक असमझदारी बढ्ने, घरको सामानहरू चोरी हुने, दैनिक झगडा गर्ने, सम्पत्ति घट्दै जाने, पारिवारिक दुरि बढने, अनैतिक कार्यमा संलग्न हुने ईत्यादि ।