Home गृहपृष्ठ योमरी पूर्णिमा (योमरी पुन्हि)

योमरी पूर्णिमा (योमरी पुन्हि)

0

योमरी पूर्णिमा (योमरी पुन्हि) Yomari Purnima

नेवार समुदायमा कृषि सम्बन्धी धेरै चाड पर्वहरु हुने गर्दछन । यस मध्य एक योमरी पूर्णिमा पनि रहेको छ । नेपाल सम्बत अनुसार थिंलाथ्व पुर्णिमा (मार्ग शुक्ल पुर्णिमा) का दिन मनाइने यो पर्वमा विशेष प्रकारको रोटीको भोग गर्ने गर्दछ जसलाई योमरी भनिन्छ । योमरी खाने दिन भएको कारण यस दिनलाई योमरी पुर्णिमा भनिएको हो । नयाँ धान भित्र्याएको खुशीयालीमा हर्षोल्लासका साथ यो चाड मनाउँदछ । यसरी भित्र्याइएको नयाँ धानको चामलबाटै योमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ । योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँधेर खाने चलन रहेको छ । साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने प्रचलन पनि रहेको छ। यो एक प्रकारले देउसी, भैलो जस्तै प्रचलन हो । योमरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई “त्यसिंत्य” भन्ने गरिन्छ । यसरी योमरी माग्न गै सबैको भलोको कामना समेत गर्दछ ।

यस पुर्णिमाका रात सबै भन्दा लामो रातको रुपमा पनि लिइन्छ । यस रातका सुत्न नपुग्ने मान्छेहरुलाई जिन्दगीमा कहिले पनि सुत्न पुग्दैन भन्ने गरिन्छ । यस पुर्णिमाको भोलि पल्ट देखि योमरीको चुच्चो जति दिन लम्बिन्दै जान्छ भन्ने गरिन्छ । ईस्बी सम्बत अनुसार पनि सबै भन्दा लामो रात December 22 का दिन हो । योमरी पुर्णिमा पनि लगभग यसैदिन पर्न आउँदछ । योमरी बनाउदा भित्र चाकु राख्ने गर्दछ । बैज्ञानिक कथन अनुसार जाडो महिनामा चाकु खानाले शरिरमा न्यानोपन बढ्छ जसले रुघाखोकी लाग्न दिन्दैन । यसरी चाकुका साथ मायो, बायो, सुरुजु, त्वयजु पनि राख्ने गर्दछ । योमरी बिशेषत दुई प्रकारको आकारमा बनाइने गर्दछ । १. लाम्चो आकार २. चेप्टो आकार ।

योमरी पुर्णिमा बारे एक ऐतिहासिक कथा रहेको छ । जस अनुसार पाञ्चाल देश (हालको पनौती) मा सुचन्द्र महाजन नाम गरेका एक दानी र धर्मात्मा दम्पति बस्दथे उनीहरुको दयालु स्वभाव संसारभर फैलिएको थियो । एक दिन कुबेरलाई सुचन्द्र महाजन दम्पति कतिको दानी रहेछन् भनि बुझ्न मन लागेछ । कुबेरले एक दरिद्र रुप धारण गरी उक्त महाजनको घरमा माग्न पुगेछन् । महाजन दम्पतीले दरिद्र रूपी माग्नेलाई स्वागत सत्कार गरी पकाएर राखेको योमरि सहित खानेकुरा खुवाउनुको साथै श्रद्धा गरेकाले कुबेर खुसी भै आफ्नो सक्कली रुपको दर्शन दिएछ र ति महाजन दम्पतिलाई योमरिको गुण र धानको भकारीमा गणेश, कुबेर र तिनका बाहन सहितको प्रतिमा बनाई पूजा गरी योमरि चढाउने विधि बताएर अन्तर्ध्यान भएछन् । त्यस दिन मंसिर शुल्क पूर्णिमा अर्थात् थिंलाथ्व पूर्णिमाको दिन थियो । कुवेरले दिएको महाजन दम्पतिले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको रोटी (योमरी) बनाई अन्न राख्ने भकारीमा विधिपूर्वक स्थापना गरि ४ दिन सम्म छोपेर राखी पूजा गरेछन् । अनि अन्न, धान र योमरि दान पनि गरेछन् । भकारीमा चढाएको चार दिनपछि दिइसकेका छोरीचेली समेतलाई माइतमा बोलाइ सपरिवार बसेर योमरि प्रसादका रुपमा बाधेर खाने/ख्वाउने गरिन्छ । योमरि खाएकाले शरीरसमेत हृष्टपुष्ट हुन थालेछ । धन सम्पत्तिको बृद्धि हुन थालेछ र आम्दानी पनि बढ्न थालेछ । विस्तारै यो कुरा जताततै फैलिए । त्यही समयदेखि नेवार समुदायमा योमरि पूर्णिमाको संस्कृति विकास भएको विज्ञहरु बताउँछन् ।

Exit mobile version