नायिका प्रियंका कार्की नेपालमा हरर फिल्ममा धेरै काम गर्ने नायिकाको लिस्टमा पर्छिन् । उनी स्वयम भन्छिन्,’नेपालमा निर्माण भएका हरर फिल्महरु धेरै गर्ने नायिकामा म पनि पर्छु ।’ तर, प्रियंकाले काम गरेका हरर फिल्मको चर्चा भने खासै भएको पाइदैन् ।
त्यसो त नेपालमा बन्ने गरेका हरर फिल्मले दर्शकलाई तर्साउन सकेका छैनन् । हलमा पुगेका अधिकांश दर्शक हरर फिल्म हेरेर हाँस्ने गरेका छन् । जसकाकारण, नेपालमा बनेका हरर फिल्मप्रति दर्शकको मोह पनि खासै देखिदैन ।
त्यसइको प्रभावले गर्दा आजभोलि प्रियंकाले आफूलाई हरर फिल्मको अफर आउँदा सचेत हुने गरेको र टिमलाई सल्लाह दिने गरेको बताउछिन् । प्रियंका भन्छिन्–‘हरर फिल्ममा मेरो प्रतिष्ठा राम्रो छैन । यसैले, म आफै पनि बेला बेला सोचिरहेको हुन्छु । मैले फिल्मको अफर आउँदा नै टिमलाई भनेको हुन्छ । किनकी, हरर फिल्मको स्क्रिप्ट त राम्रो हुन्छ नै । तर, फिल्म बन्दासम्म निकै नै संझौता हुने गर्दछ ।’
नायिका कार्किले अभिनय गरेको फिल्म ‘माला’ बक्स अफिसमा असफल भएपनि यसको चर्चा राम्रै भयो । यसपछि, उनले अभिनय गरेका अधिकांश हरर फिल्मले दर्शक तान्न सकेनन् ।
उनै, प्रियंका अहिले फिल्म ‘ममी’को प्रचारमा छिन् । फागुनको २५ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई लिएर उनी उत्साहित छिन् । प्रियंका यसपटक आफ्नो हरर फिल्मप्रतिको इमेज सुधार्ने प्रयासमा छिन् । उनका अनुसार, यसपटक भने यो फिल्म हेरेर दर्शक तर्सिने र दर्शकको राम्रो तारिफ पाउनेमा ढुक्क छिन् ।