Wednesday, December 4, 2024
spot_img
Homeअपराध खबरसुमेरु सेभिङको अनुसन्धान पूरा, भरत महर्जनलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिँदै

सुमेरु सेभिङको अनुसन्धान पूरा, भरत महर्जनलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिँदै

ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा भएको अपचलनबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सकेको छ । सहकारीका संस्थापक अध्यक्ष भरत महर्जनलाई प्रतिवादी कायम गरेर अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ ।

सुमेरुको अनुसन्धान पूरा भएको सीआईबीका प्रमुख (एआईजी) दीपक थापाले बताए । उनले भने, ‘अनुसन्धान पूरा भएको छ, केही दिनमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा अनुसन्धान प्रतिवेदन बुझाउँछौँ ।’

बचतकर्ताले जम्मा गरेको ७ अर्ब १ करोड २१ लाख संस्थापक अध्यक्ष महर्जनले अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । महर्जन फरार छन् । उनी २०७९ पुस ७ मा भागेर बेलायत गएको देखिएको छ । महर्जनविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) महासचिवलयबाट रोड नोटिस जारी भएको छ । २०८० माघ १० मा नोटिस जारी भएपनि अहिलेसम्म उनी पक्राउ परेका छैनन् ।

महर्जन पक्राउ नपरेको हुनाले सहकारीमा आबद्ध अन्य व्यक्तिलाई प्रतिवादी बनाउने अवस्था नदेखिएको एआईजी थापाले बताए । उनले भने, ‘महर्जनलाई ल्याएपछि थप तथ्य खुल्छ ।’ महर्जन पक्राउ परेपछि उनको बयानको आधारमा पूरक अभियोग लैजाने गरी अनुसन्धान अधिकृतहरूले पूरक प्रतिवेदन तयार गरिरहेका छन् ।

सुमेरु सहकारीको निक्षेप निजी अस्पताल, कलेज, मेडिकल कलेज, रिसोर्ट र मार्टमा लगानी गरेको भेटिएको छ । महर्जनले १७ वटा निजी कम्पनीमा आफूखुसी रकम लगेर अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । महर्जनको नाममा रहेको सम्पत्ति र उनले लगानी गरेका कम्पनीहरूको खाता प्रहरीले रोक्का गरेको छ ।

निक्षेप आफूखुसी निजी कम्पनीमा लगेर महर्जन सम्पर्क विहीन भएपछि सहकारीका तत्कालीन अध्यक्ष विनोद दाहालले उनीविरुद्ध जाहेरी दिएका थिए । जाहेरी दर्ता भएको १ वर्षभित्र अनुसन्धान पूरा गरेर प्रतिवेदन बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

बचतकर्ताले सो सहकारीमा ११ अर्ब बचत गरेका थिए । सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडसँग करिब १३ अर्बको बचत र सम्पत्ति रहेको भेटिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए । ती अधिकृतले भने, ‘सुमेरुको सम्पत्तिबाट बचतकर्ताले रकम फिर्ता पाउने अवस्था देखिन्छ ।’

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू