काठमाडौं । श्रमजीवी पत्रकार संघले श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक तत्काल लागु गर्नुपर्ने भन्दै ९ बुँदे माग राखी सिंहदरबारको पूर्वी गेटमा कालो व्यानर उडाएर विरोध प्रदर्शन गरेको छ । संघका अध्यक्ष जन्मदेव जैसीको अगुवाहीमा बेलुनमा कालो व्यानर राखेर उडाउदै विरोधको प्रदर्शन गरेको हो । गत मंसिर २५ गते सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मालाई अल्टिमेटम पत्र बुझाए लगत्तै २९ गते एक प्रेस विज्ञप्ति जारी गरि पुस १ गते देखि ८ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।
संघका अनुसार सामाजिक सञ्जालमार्फत ९ बुँदे मागको प्रचार प्रशार , हस्ताक्षर अभियान लगायत बुधबार बेलुनमा कालो व्यानर भुन्ड्याएर सिंहदरबाको पूर्वी गेटबाट आकासमा उडाइएको हो । आगामी विरोध कार्यक्रममा सातैवटा प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकषण पत्र बुझाउने, कालो व्यानर सहित राजधानी काठमाडौंमा धर्ना बस्ने र पुस ८ गते प्लेकाडसहित प्रदर्शन गर्ने तयारी गरेको छ ।
“विभिन्न सञ्चारगृहहरुमा यतिबेला श्रमजीवीहरु आन्दोलित छन् तर व्यवस्थापन पक्षले माग सम्बोधन गर्नुको सट्टा वेवास्ता गर्ने र राज्यले पनि ताकेता नगर्दा श्रमजीवीहरुको श्रमको मूल्य पाउने अधिकार हनन् भएको छ । अतः यी सबै सञ्चार क्षेत्रका श्रम समस्या निराकरण गर्न हामी जोडदार माग गर्दछौ ।” उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रा जायज मुद्धाको सम्बोधन नभए पुष १ गते आइतवारदेखि हुने सडक आन्दोलनले बाध्य पार्ने विश्वास व्यक्त गर्दै सो आन्दोलनमा साथ समर्थन र सक्रिय सहभागिताका लागि पनि यसै पत्रमार्फत श्रमजीवी पत्रकार आम समुदायमा हार्दिक अपिल गर्दछौ ।”