काठमाडौं । साउदी अरबमा रक्सी बनाएर बेचेको आरोपमा साढे ४ सयभन्दा बढी नेपालीहरू जेलमा परेका छन् । मदिरा सेवन र बनाएर विक्री गरेको जस्ता आरोपमा करिब ४८० को संख्यामा नेपाली श्रमिकहरू जेल परेका हुन् ।
साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो र त्यहाँ झन्डै चार लाख नेपालीहरू रहेको बताउने गरिन्छ । रियादस्थित नेपाली राजदूतावासका प्रथम सचिवले बढी आम्दानी हुने लोभले नेपालीहरू मदिरा सेवन र बेचबिखनसँग सम्बन्धित कसुरमा पर्ने गरेको बताए । नेपाली श्रम अधिकारीहरूले साउदी अरबसहितका श्रम गन्तव्य प्रस्थान गर्नुअघि दिइने अभिमुखीकरण कार्यक्रमहरूमा ती देशमा गर्न नहुने गतिविधिहरूबारे जानकारी गराउने गरिएको भन्दै यसलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
रियादस्थित नेपाली राजदूतावासले साउदी अरबको जेल प्रशासनले उपलब्ध गराएको आँकडालाई उद्धृत गर्दै ८० देखि ८५ प्रतिशत नेपालीहरू मदिरा सेवन, ओसारपसार र उत्पादनको कसुरमा जेलमा रहेको बताए । उनी भन्छन्, ‘घरेलु मदिरा उत्पादन, विक्री वितरण, ओसारपसार र सेवन गरेको आरोप जेलमा रहेको धेरैलाई लागेको छ । सबैलाई साउदी अरबमा मदिरा गैरकानुनी हो भन्ने थाहा छ । तर थाहा हुँदा हुँदै पनि पक्राउ परिएन भने छोटो समयमा टन्न पैसा कमाई हुन्छ भन्ने लोभले यो निरुत्साहित भइरहेको छैन ।’
सात दशकदेखि मदिरामाथि प्रतिबन्ध लगाएको साउदी अरबमा मदिरा राख्ने वा बेचबिखन गर्नेलाई जरिवाना गराउने देखि जेलमा थुन्ने र कोर्रा हान्नेसम्मको सजाय तोकिएको छ । साउदी अरबले गैर मुस्लिम कूटनीतिज्ञहरूका निम्ति मदिरा बिक्री गर्ने अनुमति दिन लागेको घोषणा गरेको थियो । कैयौँ नेपालीहरूलाई मदिरा उत्पादनसहितको कसुरमा सजाय दिइएको र कैयौँमा सजाय सुनाउन बाँकी नै रहेको बताइन्छ ।
त्यस्तो कसुरमा केही महिनादेखि सात वर्षसम्मको सजाय सुनाइएको पाएको अभिलेखमा उल्लेख छ । पक्राउ परेका नेपालीहरूमाथि बेचबिखनको लागि मदिराको उत्पादन गर्ने गरेको आरोप लगाइएको छ । तर मदिराबारे त्यति कठोर नीति अँगालेको साउदी अरबमा नेपाली श्रमिकहरूले कसरी मदिरा उत्पादन गर्न सकिरहेका भन्ने प्रश्न कैयौँले सोध्ने गरेको पाइन्छ । कम्पनीमा काम गर्दा प्राप्त हुने न्यूनतम तलबभन्दा धेरै आम्दानी हुने भएकाले कैयौँ नेपालीहरू पक्राउ पर्दा समेत रक्सी उत्पादन गर्ने वा बेचबिखन गर्न निरुत्साहित गर्न नसकिएको नेपाली राजदूतावासका सूचना अधिकारीसमेत रहेका गिरीको भनाई छ ।