काठमाडौं– संघीयताको विरोध गर्दै राजावादी शक्ति सडकमा निस्किएसँगै राजनीतिक दल पनि एकताबद्ध देखिन थालिएको छ । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, मेडिकल व्यवसायी दुर्गा प्रसाईं तथा पूर्वपञ्चहरु पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा सडकमा उत्रिएपछि दलहरुमाथि प्रश्न उठेको थियो ।
गत फागुन २५ गते पूर्वराजा शाह पोखराबाट आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै राजावादीहरु स्वागत गर्न पुगेका थिए । उनीहरुले शाहलाई महाराजगञ्जसम्म जुलुस गरी पु¥याएका थिए । यद्यपि, यसविरुद्ध राजनीतिक दलका नेताहरु मौन रहे । शाह जुलुसै लिएर उत्रिने भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु हुलाकी मार्गमा जारी राखेको जागरण अभियान स्थगित गरी काठमाडौं उत्रेका थिए ।
ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायकको मान्छे पनि हैनन् । राप्रपा पछि पछुताउँछ । राप्रपाले पार्टी सभापति बनाए हुन्छ पार्टीको ।
शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस
त्यसको केही दिनमै माओवादी अध्यक्ष पुष्पकमल दाहाल सिन्धुपाल्चोकको मेलम्ची पुगेर राजावादी र पूर्वराजाविरुद्ध धावा बोले । चैत १ गते दाहालले पूर्वराजा ज्ञानेन्द्र ‘असफल’ नेता भएको र उनले गरेको शासन जनताले अझै नबिर्सने तर्क पेस गरे । ‘२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पु¥याए, नेपाली जनताले बिर्सिएको छ ? मूर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा ? भाइमारा को हो ?,’ दाहालको प्रश्न थियो, ‘आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिएको भन्ठानेको ?’
सरकारको कार्यसम्पादनका कारण जनता रुष्ट रहेको भन्दै गरिएको प्रदर्शनको प्रमुख प्रतिपक्षी दलले नै ‘काउन्टर’ विरोध गरेपछि राजावादीहरु झस्किए । सँगै दाहालले पाँच दिनपछि काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा पूर्वराजा शाह गणतन्त्रको भिलेन भएको दाबी पेस गरे । ‘गणतन्त्र ल्याउन भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका महŒवपूर्ण छ,’ दाहालले भने, ‘किनभने कुनै कथा, उपन्यास र फिल्म हिरोलेमात्र चल्दैन । त्यहाँ भिलेन पनि चाहिन्छ । भिलेनको रोल सक्रिय भएन भने हिरो पनि सफल नहुन सक्छ । भिलेन अलि खतरनाक भएर आइदियो भने अनि हिरोले पनि सम्पूर्ण तागतका साथ परास्त गर्न सक्छ ।’
गणतन्त्र ल्याउन भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका महŒवपूर्ण छ । किनभने कुनै कथा, उपन्यास र फिल्म हिरोलेमात्र चल्दैन । त्यहाँ भिलेन पनि चाहिन्छ ।
पुष्पकमल दाहाल
अध्यक्ष, नेकपा माओवादी केन्द्र
दाहालले राजावादीमाथि निरन्तर प्रहारमात्र गरेनन् नेकपा एकीकृत समाजवादीसँग मिलेर चैत १५ गते शक्ति प्रदर्शन गर्ने कार्यतालिकासमेत सार्वजनिक गरे । त्यसपछि सत्तामा रहेको नेपाली कांग्रेस र नेकपा एमालेसमेत राजावादीको विरोधमा बोल्न बाध्य भए ।प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते काठमाडौंको होटल सोल्टी पुगेर अराजकताले व्यवस्था नउल्टने संकेत गरे । ‘एयरपोर्टदेखि महाराजगजञ्जसम्म त खुला उद्घोषका साथ मान्छेहरु मार्च गरेको देखियो । अराजकता सिर्जना गरेर हाहु गरेका भरमा उथलपुथल गर्न यहाँ सजिलो छैन, अरु देशमा जस्तो । नेपाली जनता धेरै लामो समय संघर्ष गरेर यहाँ आइपुगेका छन् । लोकतन्त्रलाई रक्षा गर्न नेपाली जनता पर्याप्त चनाखो छ,’ ओलीले भने । एमालेले आज राजावादीहरु र राप्रपाको अभियानविरुद्ध गाउँगाउँमा प्रदर्शन गर्दै छ ।
योसँगै राजावादीको अभियान र प्रदर्शनबारे मुख नखोलेको कांग्रेस कार्यसम्पादन समितिको मुखमा बोल्न बाध्य भयो । कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र संवैधानिक राजा हुनसमेत लायकको नभएको टिप्पणी गरे । यसो त देउवाले राप्रपा पनि पछुताउनुपर्ने बताए । ‘ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायकको मान्छे पनि हैनन् । राप्रपा पछि पछुताउँछ । राप्रपाले पार्टी सभापति बनाए हुन्छ पार्टीको । पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि,’ आइतबार बागमती प्रदेश प्रशिक्षण विभागले ललितपुरमा आयोजना गरेको कार्यक्रम देउवाले भने, ‘तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन् । राप्रपाले पनि दुःख पाउँछ ।’ राप्रपा राजतन्त्र पुनस्र्थापनादेखि हिन्दूराष्ट्रको माग गर्दै आन्दोलनको तयारीमा छ ।
अराजकता सिर्जना गरेर हाहु गरेका भरमा उथलपुथल गर्छु भनेर नसोचे हुन्छ । लोकतन्त्रलाई रक्षा गर्न नेपाली जनता पर्याप्त चनाखो छ ।
केपी शर्मा ओली
प्रधानमन्त्री
राजावादीको आन्दोलनको काउन्टरमा भने कांग्रेसले कुनै प्रदर्शनको कार्यक्रम नगर्ने जनाएको छ । ‘हामीले शक्ति प्रदर्शनको प्रतिस्पर्धा गर्न आवश्यकता ठानेका छैनौं । जनता संविधानको पक्षमा उभिएका छन् । कुनै पार्टीहरूले प्रदर्शनको निर्णय गर्न सक्छन् । तर कांग्रेसले तत्काल सडकमा उभिएर आफ्नो कुरा राख्नुपर्ने ठान्दैन,’ कार्यसम्पादन समितिको बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने । कांग्रेसले गणतन्त्रप्रति निरन्तर पूर्णप्रतिबद्ध रहेको निर्णयसमेत गरेको छ ।