पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनाको विकल्प खोज्न ढिला गर्न नहुने बताएका छन् । शनिबार पोखरामा पार्टीको गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्दै सभापति लामिछानेले प्रदेश संरचना बेढंगको भएको बताए ।
‘प्रदेश संरचनाको विकल्प सोच्न एक मिनेट पनि ढिला गर्न हुँदैन । यो बेढंगको प्रदेश संरचना नेता पाल्ने, कार्यकर्ता पाल्ने, राज्य कोषको दोहन गर्ने एउटा माध्यम बनेको छ । यसको विकल्प तुरुन्त सोच्नुपर्छ कि यसलाई सच्याउनुपर्छ’, लामिछानेले भने । प्रदेशको विकल्प तुरुन्त सोच्नुपर्छ भनेर एक पटक होइन आफूले धेरै पटक भनेको उनको जिकिर छ ।