प्युठान, मल्लरानी गाउँपालिका-४ स्थित जिल्ला समन्वय समितिको सभाहलमा शैक्षिक गुणस्तर अभिवृद्धि तथा अपराध न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्यमा मल्लरानी गाउँपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोईरालाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै शिक्षकहरूले बालबालिकाको मनोभावना बुझी सोही अनुरूप व्यवहार गर्नुपर्ने र सँधै सकारात्मक सोँचका साथ आफ्नो कर्तव्य पालना गर्नुपर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले अपराधको तथ्याङ्क प्रस्तुत गर्दै अपराध न्यूनीकरणमा विद्यालय र शिक्षकहरूको भूमिका र किशोरावस्थाका बालबालिकाहरू संलग्न हुन सक्ने अपराधजन्य क्रियाकलापहरूको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा मल्लरानी गाउँपालिकाका उपाध्क्षय रमेश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि यस कार्यक्रम फलदायी हुने विचार व्यक्त गर्नुभयो ।
मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कर्ण बहादुर बुढा क्षेत्री, मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिर बहादुर सेजुवाल, पालिकाका जनप्रतिनिधिहरू, पालिका अन्तर्गत रहेका विद्यालयहरूका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, प्रधानाध्यापक तथा शिक्षकहरू लगायतको सहभागिता रहेको थियो ।
यसैगरी सरूमारानी गाउँपालिका-४ बड्डाँडास्थित गाउँपालिकाको सभाहलमा अपराध न्यूनीकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको थियो । जिल्ला प्रहरी कार्यालय प्युठान र सरूमारानी गाउँपालिका सहकार्यमा आयोजित उक्त कार्यक्रम शिक्षाविद् प्रा.डा. विद्यानाथ कोईरालाको प्रमुख आतिथ्यता तथा सरूमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।