काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित होटल जन्मभूमिको चौंथो तलामा मृत भेटिएका दुई जना दम्पती रहेको पुष्टि भएको छ । सुनसरीको दुहबी घर भएका ३४ वर्षीय रमेश माझी र २९ वर्षीया शर्मिला श्रीमान्–श्रीमती भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
मङ्सिर ८ गते बिहान कतार एयरलाइन्सको उडानमार्फत उनीहरू क्यानडाबाट काठमाडौँ आएका हुन् । काठमाडौँ आएपछि उनीहरू एयरपोर्ट नजिकै रहेको होटल जन्मभूमिमा गएर बसेको एसपी अधिकारीले बताए । उनले भने, ‘विमानस्थलबाट उहाँहरू सिधै होटलमा गएको देखिन्छ ।’
पौने ७ बजेतिर होटलमा पुगेका उनीहरू चौथो तलाको १२० नम्बर कोठामा बसे । मोरङ घर भएकी शर्मिलाको पासपोर्टमा पतिको नाम रमेश माझी उल्लेख छ । उनीहरू २०२२ देखी क्यानडामा बसेर फर्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
होटलको कोठा बन्द रहेको र कोठा बाहिर बार्दलीमा एउटै सलको पासोमा दुवैजना झुन्डिएको अवस्थामा उनीहरू फेला परेका हुन् । स्थानीय जनप्रतिनिधिको रोहबरमा ढोका फुटाएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सक विशाल सहनीले घटनास्थलमा पुगेर फरेन्सिक जाँच गरेका छन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको एसपी अधिकारीले बताए । विराटनगरबाट उनीहरूका आफन्त काठमाडौँ आउँदै छन् । आफन्त आएसँगै जाहेरी लिएर शव पोस्टमार्टम गरिने अधिकारीले जानकारी दिए ।