Home अपराध खबर विश्नोईको नाममा धम्की : पक्राउ परेका युवाविरुद्ध आपराधिक विश्वासघातमा अनुसन्धान

विश्नोईको नाममा धम्की : पक्राउ परेका युवाविरुद्ध आपराधिक विश्वासघातमा अनुसन्धान

0

१४ मंसिर, काठमाडौं । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका हरिचन्द्र फुँयालविरुद्ध आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान हुने भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले झापाको मेचीनगर–१३ चारआलीबाट उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका फुयाँललाई सीआईबीको कार्यालय लाजिम्पाटमा ल्याइसकिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए ।

प्रहरीको उजुरी पक्राउ पुर्जीका आधारमा पक्राउ परेका उनीविरुद्ध अब अदालतबाट पक्राउ पुर्जी जारी गराउने र म्याद थपको प्रक्रिया अघि बढाइने सीआईबीले जनाएको छ । उनीमाथि आपराधिक विश्वासघातको कसुरमा म्याद लिएर अनुसन्धान गरिने बोगटीले बताए ।

केही समयअघि विश्नोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो ।

त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाम लिएर पनि धम्की आएको खुलेको थियो । अहिले झापाबाटै सीआईबीले फुँयाललाई पक्राउ गरेको हो ।

‘प्रसाईंको नाममा पनि धम्की आएको भन्ने गुनासो थियो । अहिले झापाकै मान्छे पक्राउ परेकाले यस विषयमा थप गहन अनुसन्धान गर्नुपर्ने देखिएको छ,’ सीआईबीका एक अधिकृतले भने ।

जसको नाम लिएर धम्की दिएको भनिएको छ, ती दुवै व्यक्ति जेल र हिरासतमा छन् । प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो । उनीमाथि अहिले साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरिरहेको छ ।

विश्नोई भने अहिले भारतको सबैभन्दा तिहाड जेलमा छन् । उनीमाथि फिरौती असुली र हत्याको आरोप छ । पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेलमा थिए । पछि जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि तिहाड जेलमा सारिएका थिए । उनले पटक–पटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका थिए ।

Exit mobile version