निर्देशक सौरभ चौधरीले निर्देशन गर्ने फिल्म ‘कर्मा’को शीर्ष भूमिकामा विपिन कार्की अनुबन्धित भएका छन् । यो फिल्मको प्रदर्शन मिति नयाँ वर्षको छेकोमा चैत २९ गतेलाई तय गरिएको हो ।
अभिनेता कार्कीलाई फिल्मको घोषणा पोस्टरमा व्यायाम गरिरहेको अवस्तामा देखाइेको छ । यसअघि ‘अगस्त्य’ निर्देशन गरेका चौधरीको यो नयाँ कथानक फिल्म हो ।
एक्सन जनरामा निर्माण हुने फिल्ममा विपिनलाई एक्सन भूमिकामा देख्न पाइने भएको छ । विपिनले पनि यो फिल्म एक्सन र ट्राभल शैलीमा बन्न लागेको बताए । यसअघि ‘नाका’मा एक्सन अवतारमा देखिएका उनी ‘कर्मा’बाट एक्सन भूमिकामा फर्किएका छन् ।
निर्देशक चौधरीको भने यो तेस्रो निर्देशकीय फिचर हो । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने फिल्ममा वसन्त लम्सालले लगानी गर्दैछन् । छायांकन मंसिर दोस्रो सातादेखि सुरु हुने जनाइएको छ । अन्य कलाकार पनि जोडिने क्रम जारी रहेको निर्देशक चौधरीले बताए ।