Tuesday, March 11, 2025
spot_img
Homeशिक्षाविद्यार्थीमाझ किड्स जोनले स्मरण गर्‍यो सहिदको योगदान, सिर्जनात्मक कार्यक्रम सम्पन्न

विद्यार्थीमाझ किड्स जोनले स्मरण गर्‍यो सहिदको योगदान, सिर्जनात्मक कार्यक्रम सम्पन्न

धनगढी । कैलालीको गोदावरी नगरपालिका-१ अत्तरियास्थित किड्स जोनले विद्यार्थीमाझ विशेष कार्यक्रमका साथ सहिद दिवस मनाएको छ। विद्यालयले सहिदहरूको सम्झनामा विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम गरेको हो।

गोदावरी नगरपालिका-१ का अध्यक्ष गोपालदत्त भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक-विद्यार्थी, अभिभावक तथा स्थानीय सहभागी थिए। कार्यक्रममा सहिदहरूको तस्बिरमा माल्यार्पण गरिएको थियो।

सहिदहरूको योगदानलाई स्मरण गर्दै प्रमुख अतिथि भट्टले सहिदहरूले देखाएको मार्गमा हिँड्दै देश र समाजको समृद्धिका लागि सबैले योगदान दिनुपर्ने कुरा बताए। उनले सहिद दिवसलाई केवल सम्झना दिवस मात्रै नभई राष्ट्र निर्माणको प्रेरणादायी दिनका रूपमा लिनुपर्ने विचार व्यक्त गरे।

सहिद दिवसको अवसरमा अन्तर विद्यालय ‘म्युजिकल ड्रिल’ प्रतियोगिताको आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा १० वटा विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए। 

विद्यार्थीहरूले देशभक्तिपूर्ण गीत, नृत्य तथा गायन प्रस्तुत गर्दै सहिदको सम्मानमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। प्रतिस्पर्धामा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका सहभागीहरूले सहिदको बलिदानलाई सम्झन यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै भविष्यमा अझ व्यापक रूपमा सहिद दिवस मनाइनुपर्ने धारणा व्यक्त गरे। सहिद परिवारहरूप्रति सम्मान प्रकट गर्दै उनीहरूको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता गतिविधिहरूले महत्वपूर्ण भूमिका खेल्ने सहभागीले बताएका छन्।

विद्यालयका प्रिन्सिपल मदन जोशीले यस्ता खाले कार्यक्रमले विद्यार्थीमा पूर्खाले राष्ट्रका लागि पुर्‍याएको योगदानबारे जानकारी प्रदान गर्न सहज हुने बताए। किताबी ज्ञानका साथै व्यवहारिक रुपमै यस्ता कार्यक्रम गर्दा विद्यार्थीको सिकाइ थप प्रभावकारी हुने उनको भनाइ छ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू