काग तिहारको दिन बुधबार बिहानै ‘२१औँ काग सम्मेलन’ गरिएको छ । विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलाल (कागे)ले विगतका वर्षहरूमा झैँ यो वर्ष पनि कागहरूलाई भेला गराएर सम्मेलन सम्पन्न गरेका हुन् ।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा राजधानीको नारायणहिटी अगाडि भएको उक्त सम्मेलनमा उनले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराएका थिए ।
उनले कागको आवाज निकालेर कागलाई बोलाउन थालेपछि नजिक सयौँ काग आएका हुन् । ‘विगत वर्षमा झैँ यो वर्ष पनि सम्मेलन गरेर कागलाई भेला गराउन सफल भइएको छ। यो मेरो २१ औँ काग सम्मेलन हो’, इलाम स्थायी ठेगाना भएका दुलालले सम्मेलन सम्पन्न भएसँगै भने।
उनले आज बिहान पौने ६ बजे आयोजित उक्त सम्मेलनमा १ हजारको हाराहारीमा कागलाई भेला गराइएको समेत बताए ।
‘कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ। कागलाई बोलाउँदा मलाई आपत् पर्यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आउँछन्’ उनले भने । सोहीअनुसार कागको स्वभावअनुसार बोलाउँदा काग तिहारको बिहानै कागलाई भेला गर्न सकिएको बताए ।