पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने लमजुङका सन्तोष रानाभाटविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको छ ।
शनिबार अमरसिंह चौरमा रास्वपाको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा लामिछानेलाई रानाभाटले खोया प्रहार गरेका थिए । तर, लामिछानेले कार्यक्रमबाटै उनलाई छाडिदिन आग्रह गरेका थिए ।
प्रहरीका अनुसार लामिछानेलाई खोया हानेका कारण उनी पक्राउ परेका होइनन् । प्रहरीलाई अपशब्द बोलेपछि प्रहरी आफैँले प्रतिवेदन बनाएर उनीमाथि मुद्दा चलाएको हो । लामिछाने मञ्चमा बोलिरहेको अवस्थामा ३४ वर्षीय रानाभाट मकैको खोया हानेर भाग्न खोजेका थिए । उनी भाग्न थालेपछि प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको थियो । तर, सम्झाउने क्रममा रानाभाटले ड्युटीमा खटिएका प्रहरीलाई अपशब्द प्रयोग गरेर गालीगलौज र हातपातको समेत प्रयास गरेको प्रहरीले जनाएको छ ।
रानाभाटमाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत अभद्र व्यवहार गर्न नहुने कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।