काठमाडौं । आफ्नो सुरक्षा फौजमा भर्ती भएर युुक्रेनसँगको युद्धमा ज्यान गुमाएका नेपालीका परिवारलाई नेपाली राजदूतावासमार्फत राहत दिन रुसी सरकार तयार भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले रुस–युक्रेन युद्धमा रहेका नेपालीका विषयमा सरकारले गरिरहेको प्रयासमा एउटा सफलता हात लागेको बताए । प्रवक्ता राईका अनुुसार रुसी सरकारले मस्कोस्थित नेपाली दूतावासलाई राहत रकम उपलब्ध गराउने भनेको छ । उक्त रकम परराष्ट्र मन्त्रालयमार्फत नेपाल ल्याइनेछ । त्यसपछि जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित परिवारलाई राहत रकम दिने उनले जानकारी दिए ।
यसअघि रुसले मृतकका परिवारलाई राहत रकम लिन परिवारका कम्तीमा एक सदस्य रुस नै पुग्नुपर्ने बताउँदै आएको थियो । नेपाल सरकारले पीडित परिवार राहत रकम लिनकै लागि रुस आउन कठिन हुने भन्दै दूतावासमार्फत उक्त रकम नेपाल पठाइदिन अनुरोध गर्दै आएको थियो । अरु देशमा ज्यान गुमाउने नेपालीको परिवारलाई पनि सम्बन्धित देशका नेपाली दूतावासमार्फत नै राहत दिने गरिएको जानकारी गराएपछि रुस पनि तयार भएको प्रवक्ता राईले बताए । दूतावासमार्फत राहत रकम पठाउन रुस सरकार तयार भए पनि यो रकम कहिले आउँछ भन्ने टुंगो छैन ।
स्रोतका अनुसार मृतकको परिवारले बीमा र राहतबापत १ करोड ५० लाख रुपैयाँ पाउन सक्छन् । तर मृतकको बीमा छैन भने प्रत्येक परिवारले लगभग ७३ लाख रुपैयाँ पाउन सक्छन् । यद्यपि, राहत रकम कति हुने भन्ने टुंगो नभएको परराष्ट्र मन्त्रालयको भनाइ छ । रुसले गत जनवरीको सुरुवातमा पास गरेको आदेशमा युक्रेन युद्धमा सहभागी विदेशी नागरिकलाई नागरिकता दिने र राहत दिने उल्लेख छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको उक्त आदेशमा युक्रेनमा रसियाका लागि लड्ने विदेशी नागरिक र तिनका परिवारलाई नागरिकता प्रदान गर्ने भनिएको छ ।
त्यस्तै अर्को एउटा आदेशमा युक्रेनसँगको युद्धमा मारिएका रुसी सैनिकका परिवारलाई ५० लाख रुबल क्षतिपूर्ति दिने र युद्धका क्रममा घाइते भएकाहरूलाई ३० लाख रुबल क्षतिपूर्ति दिने उल्लेख छ । परराष्ट्रमन्त्री एनपी साउदले गत माघ पहिलो हप्ता युगान्डाको राजधानी कम्पालामा असंलग्न आन्दोलनको शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेट गरेका थिए ।
त्यस क्रममा युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन आग्रह गरेका थिए । साथै, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरूलाई फिर्ता गरिदिन पनि आग्रह गरेका थिए । त्यस्तै परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा अहिलेसम्म रुसी सेनामा भर्ती भएका १५० जनाको परिवारले सुरक्षित स्वदेश फिर्ताको लागि निवेदन दिएका छन् । रुसी फौजमा भर्ना भएक ६ जना भन्दा बढी युक्रेनको कब्जामा छन् ।