काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) तथा महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित तीन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा परेको छ ।
प्राणमञ्च डटकमका प्रधानसम्पादक पदमप्रसाद पोख्रेलले उहाँहरूविरुद्ध जिल्ला अदालतमा कुटपिट र लुटपाटको मुद्दा दायर गर्नुभएको हो । उहाँले मेयर शाह, नगर प्रहरी प्रमुख पाण्डे र महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध मुद्दा दायर गर्नुभएको हो ।
रिपोर्टिङका क्रममा महानगर प्रहरीले आफूमाथि कुटपिट र लुटपाट गरेकाले मुद्दा दायर गरिएको उहाँले बताउनुभएको छ ।
गत फागुन १६ मा फुटपाथ व्यापारी र महानगर प्रहरीबीच भएको झडपको रिपोर्टिङका क्रममा आफूमाथि कुटपिट भएको पोख्रेलको दाबी छ । क्यामेरा, ल्यापटप तथा अन्य केही सामग्री पनि महानगरले जफत गरेको उहाँले उल्लेख गर्नुभएको छ ।
महानगरले पटक–पटक न्याय दिने सम्झौता गरेर आलटाल गरेकाले मुद्दा दायर गर्नुपरेको उहाँको भनाइ छ । महानगर प्रहरीको आक्रमणमा परी आफू घाइते भएको पनि पोख्रेलको भनाइ छ ।