काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई मंसिर ४ मा पक्राउ गरेर विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अदालतबाट म्याद लिएको छ ।
स्रोत बिना अवैध सम्पत्ति आर्जन गरेको सूचनाको आधारमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु भएको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए । उनले भने, ‘सम्पत्ति शुद्धीकरण सम्बन्धी पनि अनुसन्धान गर्दैछौँ ।’
अहिले उनलाई सीआईबी मातहतको केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबारबारे अनुसन्धान गरिरहेको छ । सीआईबीले उनीविरुद्ध थप ४ वटा कसुरमा अनुसन्धान थालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा उनीविरुद्ध प्रहरीले लिखत किर्ते सम्बन्धी मुद्दा अगाडि बढाउने भएको छ । साइबरसँगै अन्य कसुर पनि आकर्षित हुने देखिएसँगै अरु मुद्दामा अनुसन्धान थालिएको सीआईबीका एआईजी दीपक थापाले बताए । उनले भने, ‘लिखत किर्ते लगायतका मुद्दामा पनि अनुसन्धान गर्नुपर्ने देखिएको छ ।’
प्रधानमन्त्री ओलीले कम्बोडियाको एक टेलीकम कम्पनीमा लगानी गरेको भनेर फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सो कागजात भुवन भुषालले अपलोड गरेका थिए । कम्बोडियामा बस्ने ईश्वर पोखरेल ‘सफल’सँग प्रसाईंले भिडियो कुराकानी गर्दै सो कागजात देखाएका थिए । प्रसाईंले अपलोड गरेको नागरिकताको फोटोकपी र प्रधानमन्त्रीको सक्कली नागरिकता मेल नखाएको अनुसन्धानमा संलग्न सीआईबीका अधिकृतहरू बताउँछन् ।
प्रहरीले प्रसाईँविरुद्ध साइबर र किर्तेसँगै आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लगाउने तयारी गरेको छ ।
भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्कीपूर्ण फोन आइरहेको प्रहरीले जनाएको छ । बैंकर र अन्य व्यवसाय गर्नेहरुमध्येका ६ जनाले आफूलाई धम्कीपूर्ण फोन आइरहेको भन्दै सीआईबीमा उजुरी गरेका छन् । फोन गर्नेहरुले दुर्गा प्रसाईंको नाम लिएका छन् ।
फोन गरेर प्रसाईंलाई आर्थिक सहयोग नगरे हत्या गर्ने धम्की दिनेहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । धम्की दिनेहरुले प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानलाई चन्दा माग्ने गरेका छन् । त्यस्तो घटनामा ‘आपराधिक लाभ लिन नहुने’ कसुर आकर्षित हुन्छ ।
सीआईबीले गरेको प्रारम्भिक अनुसन्धानमा भारतबाट मात्रै १४१ वटा कल आएको भेटिएको छ । त्यसरी फोन गर्नेहरुले भन्छन्, ‘म लरेन्स ग्याँङबाट हुँ, दुर्गा प्रसाईंले हिन्दु धर्म जोगाउन लडेको हुनाले उहाँलाई आर्थिक सहयोग गर्नुहोस् ।’ धम्की दिने समूह र दुर्गा प्रसाईंके बिचमा प्रहरीले ‘कनेक्सन’ खोजिरहेको छ ।
प्रसाईँ नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको बैंक खाता र उनको आफ्नो व्यक्तिगत खातामा पनि शंकास्पद रकम जम्मा भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
राष्ट्रबैंकको फाइनान्सियल इन्फर्मेसन युनिट (एफआईयु)ले प्रसाईं र उनका केही आफन्तहरूको खातामा शंकास्पद कारोबार भएको भन्दै अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको छ । सीआईबीका एसपी बोगटी भन्छन्, ‘राष्ट्र बैंकबाट पत्र आएको छ, हामी त्यसबारे पनि अनुसन्धान गर्दैछौँ ।’
प्रसाईंले विभिन्न बैंकबाट ६ अर्ब ऋण लिएको भेटिएको छ । तर, त्यस्तो ऋण सदुपयोग भएको वा नभएको बारेमा पनि प्रहरीले अनुसन्धान थालेको छ । ऋण रकम सदुपयोग नगरेको भेटिएमा राष्ट्र बैंक ऐन पनि आकर्षित हुने एसपी बोगटीले बताए । उनले भने, ‘प्रसाईंबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’
हाल काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएको विद्युतीय कारोबार ऐन–२०६३ अनुसार आरोप पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय र १ लाखसम्म जरिवाना हुने व्यवस्था छ । अन्य कसुरमा फरक फरक कैद सजाय र जरिवाना हुने कानुनी व्यवस्था छ ।
यसअघि असोज ६ मा पनि प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो । साइबर अपराध मुद्दामा त्यसबेला उनी धरौटीमा रिहा भए । करिब दुई महिनाको बिचमा उनी दोस्रो पटक पक्राउ परेका हुन् ।