Tuesday, December 3, 2024
spot_img
Homeगृहपृष्ठमिथिलामा आज चौरचन मनाइँदै

मिथिलामा आज चौरचन मनाइँदै

जनकपुरधाम । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ ।

मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको बिहानदेखि नै अत्यधिक भीड छ । मिथिलाका ठूला पर्वमध्ये एक रहेको चौरचन पर्वमा चन्द्रमालाई पूजा गर्ने परम्परा छ । मिथिलामा सूर्यको मात्र होइन, मानवसहित सम्पूर्ण जगतलाई शीतलता दिने चन्द्रमाको पनि पूजा गर्ने चलन रहेको छ ।

यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ । मधेसी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने गर्दछन् । चौरचन पर्वका दिन व्रत बस्ने चलन छ ।

पूजामा विशेष परिकार बनाउने चलन छ । प्रसादका रूपमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर घरघरमा बनाउने चलन छ । फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाको पूजा गरिन्छ । चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौरचन पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रो, घरमा तयार पारेको पकवान, मिठाई, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा छ । दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने गरिन्छ ।

शास्त्रीका अनुसार यो पर्वको प्रारम्भ मिथिला नरेश हेमाङ्ग ठाकुरद्वारा भएको मानिन्छ । ठाकुर आफै ज्योतिष हुन । उनलाई यो तिथिमा शुभफल प्राप्त भएकाले यस पर्वको सुरुआत गरेको मान्यत छ । मैथिल समाजका धेरैजसो परिवारमा यो व्रत गर्ने भाकल गरिएको हुन्छ । परिवारमा कसैलाई कुनै कष्ट भएका बेला यो पर्व गर्ने भाकल गरेर कष्ट निवारणका लागि चन्द्रमालाई बिन्ती गरिन्छ । यस्तो भाकल पाँच–दश वर्षका लागि पनि गरिन्छ भने कतिपय अवस्थामा यो आजीवन हुने गर्दछ ।

चतुर्थीका दिन दिनभर उपवास बसी नैवेद्य लागि पकवान पकाइन्छ । साँझ भएपछि चन्द्रमाको विशेष विधिपूर्वक पूजा गरी यो पर्व सम्पन्न हुने झा बताउँछन । मिथिलाको लोकपर्व चौरचनको बेला गणेश र चन्द्रमाको कथा सुन्ने परम्परा रहिआएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू