अमेरिकाको भर्जिनियामा नेपाली चेली ममता काफ्लेलाई उनको श्रीमान नरेश भट्टले हत्या गरेको लगभग छर्लंग भएको छ । हत्या पश्चात शरीर टुक्राटुक्रा पारी फरक–फरक ठाउँमा डिस्पोज गरेका प्रमाण अदालतमा पेश भएका छन् ।
नरेशविरुद्ध ठोस प्रमाण नभएको भन्दै उनका वकिलहरुले धरौटी अपिल गरेपछि अस्ति ‘मोसन हियरिङ’ राखिएको थियो । अहिलेसम्म शव नभेटिएकाले शंकाकै आधारमा नरेशलाई थुनामा राख्न नमिल्ने जिकिर उनका वकिलहरुले गरे । कोठाभित्र रगतको टाटा भेटिनुले मात्रै लाश लुकाएको पुष्टि नहुने उनीहरुको तर्क थियो । तर, सरकारी वकिलहरुले भने नरेशले हत्या गरेको बलिया प्रमाणहरु पेश गरेका छन् ।
प्रमाणहरु हेरिसकेपपिछ न्यायाधीशले ४५ मिनेटभित्र धरौटी अपिल सिधै खारेज गरिदिइन् । नरेशले ममताको हत्या गरेकोमा न्यायाधीश पनि विश्वस्त देखिइन् । यद्यपि, नरेशविरुद्ध हत्याको मुद्दा भने दायर भइसकेको छैन ।
अहिले चलिरहेको मुद्दा लाश लुकाएको अभियोगमा हो । न्यायाधीशले नरेशलाई छोड्दा सिंगै नेपाली समुदाय असुरक्षित हुने, भाग्न सक्ने मात्र नभएर उनी स्वयम् पनि असुरक्षित बन्ने भन्दै धरौटी अपिल अस्वीकार गरेकी थिइन् ।
मोसन हियरिङमा इजालसभित्र ममताका समर्थकहरु खचाखच थिए । सरकारी वकिलहरुले दिएका प्रमाण र भिडियो फुटेजहरु अदालतमा देखाइँदा इजलासभित्र स्तब्धता छाएको थियो । इजलासमा उपस्थित ममता भट्टका दाइ धुरुधुरु रोए । अरुको पनि आँखा ओभनो रहन सकेन । नरेशका वकिलहरुले दाबी गरेजस्तो ममता कतै जीवित नै पो छिन् कि भन्ने झिनो आशा पनि समाप्त भएको नेपाली समुदायका अगूवाहरुले बताएका छन् ।
ममता बेपत्ता भएपश्चात र प्रहरीले उनको घरमा खानतलासी गर्नुअघि नरेशले थुप्रैपटक आफ्नो कारमा ठूल्ठूला झोला (ट्र्यास ब्याग) हरु बोकेर फरक–फरक ठाउँमा लगेर फ्याँकेको पाइएको छ । उनले कारबाट थैलोहरु झिकेर फोहोरको कन्टेनरमा हालेको सीसीटीभी फुटेज नै इजलासमा देखाइएको थियो ।
बताइएअनुसार नरेशले घरबाट १२ पटकसम्म यसरी थैलोहरु कारमा हालेर टाढा टाढा लगि व्यवस्थापन गरेका छन् । एकपटक उनले पुराना लुगाहरु राखिने डोनेसन बक्समा समेत एउटा थैलो फ्याँकेका थिए । त्यो थैलोमा बाथरुमबाहिर प्रयोग गरिने म्याट रहेको पाइएको छ, जसमा रगत लत्पतिएको थियो ।
नरेशले ममताको हत्यामा सबै होसियारी अपनाएका थिए, ताकि उनीविरुद्ध कुनै पनि प्रमाणहरु नभेटिउन् । प्रहरीले घरमा खानतलासी गर्न आउनु अगाडि नै लाशको व्यवस्थापन गरिवरी घरभित्र पनि सबै सरसफाइ सिध्याएर बसेका थिए ।
उनको तौरतरिका एकदमै सुनियोजित देखिएको छ । हरेकपटक उनले थैलो समात्दाखेरि आफ्नो फिङ्गरप्रिन्ट नबस्ने गरी ग्लोभ्स र नेपकिन पेपर प्रयोग गरेका छन् । घटनापछि उनले आफ्नो टेस्ला कारसमेत बिक्री गर्न भ्याइसकेका थिए । प्रहरीले यो कार फेला पारेपछि यही नै सबैभन्दा ठूलो सुराक बन्यो ।
यसअघि खानतलासीका क्रममा प्रहरीले शव पहिचान गर्ने कुकुर समेत लगेको थियो । उक्त कुकुर ममताको बेडरुम र वाथरुममा भुकेको थियो । ममतालाई नरेशले राति सुतिसकेपछि बेडरुममै हत्या गरेको र शव टुक्राटुक्रा पारेर थुप्रै झोलामा प्याक गरेको प्रमाणहरुले देखाएका छन् । घटनास्थलमा बगेको रगत बाथरुमबाट बगाइदिएका थिए । अर्को दिन केमिकलहरु ल्याएर कोठाहरु र वाथरुम सफा गरेका थिए ।
‘श्रीमतीको मृत्यु भएको कति समयपछि अर्को विवाह गर्न सकिन्छ ?’ भनेर गुगल सर्च गरेबाट नरेशले केही महिनाबाटै योजना बनाएको अनुमान गरिएको छ । ममता अन्तिमपटक २७ जुलाईमा आफू काम गर्ने ठाउँमा गएकी थिइन् । नरेशले भने ३१ तारिखको राति ममता घरमै रहेको र भोलिपल्ट अफिस गएको दाबी गरेका छन् ।