Wednesday, March 19, 2025
spot_img
Homeगृहपृष्ठमन्त्रालयले खोस्यो वीरअस्पताल का बिरामीले १३३ वर्षदेखि पाइरहेको खाजा–खाना

मन्त्रालयले खोस्यो वीरअस्पताल का बिरामीले १३३ वर्षदेखि पाइरहेको खाजा–खाना

स्वास्थ्य मन्त्रालयले वीर अस्पतालका बिरामीलाई खाजा र खानाका लागि दिइने बजेट कटौती गरेको छ । स्थापनाकाल अर्थात् १३३ वर्षदेखि वीरले बिरामीलाई दिनको चारपटक खाना र खाजा उपलब्ध गराउँदै आएको छ । तर, चालू आर्थिक वर्षदेखि बजेट कटौती भएपछि यो सुविधालाई निरन्तरता दिन गाह्रो भएको अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनका अनुसार गत आर्थिक वर्षसम्म मन्त्रालयले बिरामीको खाजा–खानाका लागि वार्षिक एक करोड ६८ लाख बजेट दिँदै आएको थियो । तर, चालू आर्थिक वर्षदेखि बजेटको अभाव देखाउँदै यो शीर्षक कटौती गरेको छ । गत साउनदेखि अस्पतालले बिरामीलाई उधारोमा खाजा–खाना ल्याएर खुवाउँदै आएको छ । तर, अब आन्तरिक स्रोतबाट पनि धान्न गाह्रो भएको अस्पताल प्रशासनको भनाइ छ । स्थापनाकाल अर्थात् विक्रम संवत् १९४७ देखि नै वीरले बिरामीलाई यस्तो सुविधा दिँदै आएको छ ।

वीरमा औसत दैनिक पाँच सय बिरामीलाई खाजा–खाना खुवाइन्छ । बिहान ब्रेकफास्टमा बिस्कुट र दूध, बिहानको खानामा दाल, भात, तरकारी र कुखुराको मासु, दिउँसोको खाजामा चना, अन्डा र दूध तथा बेलुकीको खानामा दाल, भात, तरकारी र रोटी खुवाइन्छ । यसबाहेक सुगरका बिरामीलाई रोटी, आइसियूमा रहेका र अन्य रोगका बिरामीलाई डाक्टरको सल्लाहअनुसार खानेकुरा दिइन्छ ।

‘यसपटक मन्त्रालयले बिरामीको खानाको बजेटसमेत कटौती गर्‍यो, अस्पताल स्थापनाकालदेखि अहिलेसम्म यस्तो कहिल्यै भएको थिएन,’ वीरको आर्थिक महाशाखाका एक कर्मचारीले भने, ‘केन्द्र सरकारले नै बजेट कटौती गरेपछि हामीले यसलाई निरन्तरता दिनुपर्छ भन्ने पनि छैन । आन्तरिक खर्चले धान्न गाह्रो पनि छ ।’ खर्च अभावका कारण बिरामीलाई दिइँदै आएको खाजा–खानाको सुविधा कटौती गर्ने तयारी भइरहेको उनले बताए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले वीरको बेड संख्या थपिए पनि सरकारले बजेट झन् घटाएकाले समस्या भएको बताए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू