Tuesday, March 18, 2025
spot_img
Homeगृहपृष्ठमण्डल मृत्यु : इलाका प्रहरी कार्यालय सुगानिकासका इञ्चार्ज जिल्ला तानिए

मण्डल मृत्यु : इलाका प्रहरी कार्यालय सुगानिकासका इञ्चार्ज जिल्ला तानिए

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका-५ का दीपनारायण मण्डल मृत्यु प्रकरणमा इलाका प्रहरी कार्यालय सुगानिकासका इन्चाज सई बालमुकुन्द ठाकुर जिल्ला तानिएका छन् । उनलाई कारबाही स्वरुप जिल्ला तानिएको धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

छिमेकसँगको समान्य विवादमा बिहीबार साँझ पक्राउ गरी लगेर कुटपिट गर्दा उनको मृत्यु भएको भन्दै स्थानीयबासिन्दाले शुक्रबार बिहान इलाका प्रहरी कार्यालयमा ढुंगमुढा र तोडफोड गरेका थिए ।

त्यस क्रममा प्रहरीले गरेको हवाई फायरको गोली दायाँ हातमा लागेर स्थानीय शिवशंकर मण्डल घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । गाउँलेले आक्रमण गरेपछि आत्मरक्षाको लागि हवाइ फायर गर्दा राइफलको गोली लागेर स्थानीय घाइते भएको एसपी शर्माको भनाइ छ । ढुंगामुढाबाट कार्यालयमा पूर्णरुपमा क्षति पुगेको उनले बताए ।

बिहीबार राति पैसा चोरी भएको विषयमा छिमेकी शंकर ठाकुरसँग दीपनारायणको विवाद भएको थियो । स्थानीयका अनुसार त्यस क्रममा शंकरले दीपनारायणलाई कुटपिट गरेर सर्ई ठाकुरलाई बोलाएर पक्राउ गर्न लगाएका थिए । इलाकामा लगेर प्रहरीले कुटपिट गरेको र घर फर्केपछि अचानक बेहोस भई उपचारको लागि प्रादेशिक अस्पता लैजाँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीयको दाबी छ ।

तर, एसपी शर्माले भने प्रहरीले पक्राउ गरेर इलाकामा ल्याएर कुटपिट गरेको र त्यस कारणले मृत्यु भएको घटनामा कुनै सत्यता नरहेको दावी गरे । प्रहरीले मण्डललाई कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा ठाकुरलाई पक्राउ गरेको छ । मृतक मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । ठाकुरविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू