Tuesday, December 3, 2024
spot_img
Homeअपराध खबरभैंसेपाटीको हनिट्रयाप घटनाका योजनाकारलाई थुनामा पठाउन आदेश

भैंसेपाटीको हनिट्रयाप घटनाका योजनाकारलाई थुनामा पठाउन आदेश

काठमाडौँ । ललितपुरको भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घटनाको योजनाकार इटहरी नगरपालिका–६ बस्ने ताज मूल भन्ने तजम्मुल ईस्लामलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीले ईस्लामलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेका हुन् ।

इटहरी बस्ने सुस्मा विश्वकर्मासँग १ लाख र भीमादेवी थापासँग अदालतले २ लाख रुपैयाँ धरौटी मागेको छ । प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत सहायक हवल्दार महेन्द्र हमाल साधारण तारेखमा रिहा भएका छन् ।

व्यवसायीलाई हनिट्रयापमा पारेर आपराधिक लाभ लिएको कसुरमा इन्स्पेक्टर विनु कुमारी शाही, सुनसरी घर भएका दर्शन पोखरेल, प्रहरी सहायक हवल्दार महेन्द्र हमाल, इटहरी बस्ने भिमादेवी थापा, इटहरी नगरपालिका–६ बस्ने ताज मूल भन्ने तजम्मुल ईस्लाम र धनकुटा घर भएर इटहरी बस्ने सुस्मालाई सरकारी वकिल कार्यालयले प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

आरोपीहरूले घर जग्गा व्यवसायीलाई हनिट्रयापमा पारेर ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भनेर ३० लाख असुलेका हुन् । आरोपीहरुसँग मिलेको भेटिएपछि इन्स्पेक्टर विनु शाहीलाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको थियो । घट्नामा उनलाई पनि प्रतिवादी कायम गरिएको छ । ललितपुरको सानागाउँ बस्ने घरजग्गा कारोबारीले भिमादेवी थापाको खातामा रकम जम्मा गरेको र १० लाखको चेक दिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रहरी उपरीक्षक कमल थापाले सो घटनाका मुख्य योजनाकार तजम्मुल ईस्लामलाई भैंसेपाटीमा त्यसबेला कार्यरत इन्स्पेक्टर शाहीलाई भेट्न पठाएको भनिएपनि थापाले सो कुरा अस्वीकार गरेका छन् ।

१९ वर्षीया सुस्माले असोज ६ मा भैंसेपाटी प्रभागमा आफूलाई एक पुरुषले गालीगलौज र धाकधम्की दिएको भन्दै उजुरी दिएकी थिइन् । उजुरी परेपछि बोलाएर छलफल गराएको इन्स्पेक्टर शाहीको भनाई छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू