आगामी भदौ २८ गते (सेप्टेम्बर १३)मा फिल्म ‘शाम्बाला’ रिलिज हुने भएको छ । शुक्रवार साँझ ललितपुरमा आयोजित एक कार्यक्रमबिच फिल्मको रिलिज मिति घोषणा गरिएको हो ।
मीनबहादुर भाम निर्देशित यो फिल्म ड्रामा, एड्भेन्चर र म्याजिक रियालिज्ममा निर्माण प्रदर्शन एप्पल इन्टरटेनमेन्टले गर्न लागेको हो । नेपाली र तिब्बती भाषामा रिलिज हुने यो फिल्मलाई नेपालमा अङ्ग्रेजी र नेपाली सबटाइटलमा समेत प्रदर्शन गरिनेछ ।
कार्यक्रममा यो फिल्मका निर्देशक भामले पहिलो फिल्म कालोपोथी केही हलमा मात्र रिलिज भएको जनाउँदै यो फिल्म भने देशभर रिलिज हुने जानकारी दिए । फिल्ममा सोनम तोप्देन थिन्ले ल्हामो, तेन्जिङ डल्हा, कर्मा वाङ्ग्याल गरुङ, कर्मा शाक्य, लोटन निमलिङ्ग, जंग बहदुर लामा लगायतका कलाकारको मुख्य भूमिका छ ।
झन्डै १४ करोड नेरु बजेट तय रहेको यो फिल्मलाई अहिलेसम्मकै महँगो नेपाली फिल्म बताइएको छ । यो फिल्मले नेपालको चलचित्र विकास बोर्डसहित विश्वका १७ अन्तर्राष्ट्रिय संस्थाबाट फण्ड जितेको छ । फिल्म नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा उठाएको छ ।