नेपाल चलचित्रकर्मी संघको कोशी प्रदेश शाखाले आयोजना गरेको ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव’ सम्पन्न भएको छ । झापाको बिर्तामोड नगरपालिका–५, धर्मकाँटा रोडमा एक सातासम्म महोत्सव चलेको हो ।
तामाङ घेदुङ बिर्तामोड नगर समितिले आयोजना गरेको मेला तथा सांगीतिक कार्यक्रम भने यथावत् छ । मंसिर ३ देखि सुरु महोत्सव ९ गते सकिएको हो ।
समापन समारोहमा कोशी प्रदेशका ५ जना वरिष्ठ कलाकारलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा प्रेम सुब्बा, हेमन्त बुढाथोकी, विजय केरुङ, केशव रायमाझी र विपिन प्रसाईं छन् ।
महोत्सवमा अभियान कार्यशाला सञ्चालन गरियो । कार्यशालामा झापाका ३० जना सहभागी थिए । ‘प्रेमगीत ३’ र ‘खजुरे ब्रो’ फिल्मका कलाकार मनिष राउतले सहभागीलाई अभिनय कला सिकाएका थिए ।
महोत्सवमा कोशी प्रदेशमा निर्माण भएका र स्थानीय कलाकार समावेश ७ कथानक फिल्म स्क्रिनिङ गरियो । माङेना, वानर सेना, लिलामे माइला, नालापानी, कृष्णलीला, बिहेपास र चारदाम थिए ।
समापन समारोहमा यी फिल्मका निर्मातालाई कदर गरियो । आयोजक संस्थाका अध्यक्ष केवल तामाङले महोत्सवमार्फत कोशी प्रदेशका सिनेमालाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्न प्रयास गरिएको बताए ।
महोत्सवले झापा जिल्लामा फिल्म तथा पर्यटनको महत्वलाई बढाउन योगदान गरेको संघका वरिष्ठ उपाध्यक्ष सुबास मेचेले बताए । महोत्सवले प्रदेशको सांस्कृतिक एवं कलात्मक पहिचान उजागर गर्न मद्दत गरेको आयोजकले जनाएको छ ।