ललितपुरबाट काठमाडौँ आउँदै गरेको बाहुबली कन्स्ट्रक्सनको टिप्पर काठमाडौँ प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरको देवीचौरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काम गरिरहेको चिनियाँ कम्पनीलाई सप्लाई गर्न ‘बेस’ बोकेर आएको टिप्पर प्रहरीले नियन्त्रणमा लिएको हो ।
बाहुबली कन्स्ट्रक्सन प्रालिको ६ वटा टिप्पर नियन्त्रणमा लिइएको प्रहरी प्रभाग कोटेश्वरका एकजना अधिकृतले बताए । ती अधिकृतले भने, ‘काठमाडौँ–१४ बल्खुको ठेगाना राखेर ललितपुरबाट सामान सप्लाई गरेको र नक्कली बिल बिजक बनाएको सुराकको आधारमा नियन्त्रणमा लिएका हौँ ।’
प्रहरीले बरामद गरेको बाहुबली कन्स्ट्रक्सनको भ्याट बिलमा प्रति टिप्पर माटो ‘बेस’को ४ हजार ५ सय उल्लेख गरिएको छ । साथै कन्स्ट्रक्सन आफैँले सप्लाईको काम गरेको र भिसिटिएस ‘भेहिक ट्रयाकिङ सिस्टम’ नराखेको भेटिएको छ ।
शंकास्पद कागजातको आधिकारिकता परीक्षण गरिने प्रहरीले जनाएको छ । बरामद भ्याट बिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेसनलाई बेस सप्लाई गरेको उल्लेख छ ।