काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्किङ हटाएपछि न्युरोड क्षेत्रका व्यवसायी आक्रोशित बनेका छन् । महानगरपालिकाले अवैज्ञानिक ढंगले पार्किङ हटाउने निर्णय गरेर आफूहरुलाई समस्यामा पार्ने काम गरेको व्यवयासीहरुको गुनासो छ । न्युरोडको पार्किङ पुरानो बसपार्कमा कायम गर्ने निर्णयले मन्दीको व्यापारमा थप मन्दी उत्पन्न हुने व्यवसायीहरुको भनाइ छ ।
पार्किङ गर्न नदिने निर्णयले व्यावसाय चौपट हुने भन्दै उनीहरुले सटर बन्द गर्ने घोषणा गरेका छन् । जसअनुसार कतिपय व्यवयासीहरुले सटर–पसल बन्द गरेर सडकमा आउन सुरु गरिरहेका छन् । यसअघि दरबारमार्ग क्षेत्रमा पनि व्यवसायीहरुले यसैगरी महानगरविरुद्ध प्रदर्शन गरेपनि महानगरले निर्णय भने सच्याएको थिएन ।
न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ गर्न निषेध गरेसँगै महानगरपालिकाले मंगलबार बिहानैदेखि कडाइ गर्न थालेको छ । जसअनुसार मंगलबार बिहान विहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ गरिएका मोटरसाइकलहरु नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको महानगरपालिकाले जनाएको छ ।
सोमबारसम्म धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, प्युखा, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ हुने गरेको थियो । यस्तै बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पनि महानगरले पार्किङ निषेध गरिसकेएको छ ।