काठमाडौँ । स्थानीय बासिन्दाले पिउन, सिचाइँ तथा वस्तुभाउका लागि नियमित प्रयोग गर्ने नुवाकोटको कोल्पुखोलाको पानी कुनै पनि प्रयोजनका लागि योग्य नरहेको खुलेको छ । काठमाडौँ उपत्यकाको फोहोरमैला बिसर्जन गर्ने स्थान बञ्चरेडाँडा भएर बग्ने यो खोलाको पानी प्रयोगका लागि अयोग्य भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको अनुसन्धान प्रतिवेदनले देखाएको छ ।
स्थानीयको स्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहेको तथ्यसहितको प्रतिवेदन सार्वजनिक गर्न भने उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय गरिरहेको काठमाडौँ महानगरपालिकाले आनाकानी गरिरहेको छ । ६ महिनादेखि उक्त प्रतिवेदन महानगरपालिकाले लुकाइरहेको हो ।
नास्टको अध्ययनले भूमिगत सतहको पानीमा फोहोरमैलाको प्रभाव नदेखिए पनि कोल्पुखोलाको पानीमा भने उल्लेख्य प्रभाव परेको जनाएको छ । फोहोरमैलाबाट निस्कने लिचेड र पानीलाई निर्मलीकरण गरेर मात्रै खोलामा हाल्नसमेत प्रतिवेदनले सुझाव दिएको छ ।
फोहोरमैलाबाट निस्केको लिचेड खोलामा मिसिँदा कोल्पुखोलाबाट सिँचित हजारौँ रोपनी खेतीयोग्य जमिन मरुभूमिकरण हुने जोखिम प्रतिवेदनले औँल्याएको छ । गतवर्ष काठमाडौँ उपत्यकाको फोहोरमैला प्रभावित क्षेत्रको अध्ययन प्रतिवेदन तयार गर्न जिम्मा पाएको नास्टले आफ्नो अध्ययन सकिएको लामो समयसम्म अध्ययन प्रतिवेदन सार्वजनिक गर्न भने सकेको छैन ।
नास्टका एक उच्च अधिकारीले अध्ययन प्रतिवेदनको रिपोर्ट तयार भइसकेको र महानगरसँगको समन्वयबेगर सार्वजनिक गर्न नमिल्ने भएकाले आफूहरुले प्रतिवेदन सार्वजनिक गर्न नसकेको बताए । नास्टले २०८० मंसिर २२ गते नै मस्यौदा प्रतिवेदन महानगरमा बुझाएको भए पनि प्रतिवेदन सार्वजनिक गर्न महानगरले आनाकानी गर्नु रहस्यको विषय हो ।
फोहोर विर्सजन क्षेत्र नुवाकोटको ककनी गाउँपालिकाले पटक पटक प्रतिवेदन सार्वजनिक गर्न र प्रतिवेदनले दिएको सुझावअनुसार प्रभावित क्षेत्रको समस्या तत्काल सम्बोधन हुनुपर्ने भन्दै आएको छ । पालिकाले नास्टसँग प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पत्र नै पठाएको छ ।
गाउँपालिकाले प्रतिवेदनले दिएको सुझावअनुसार प्रभावित क्षेत्रको समस्या तत्काल सम्बोधन हुनुपर्नेमा जोड दिदै आएको छ । पालिकाले नास्टसँग प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ । ककनी गाउँपालिकालाई प्रतिवेदनको खास अवस्थाबारे नास्टले पत्रमार्फत जवाफ पठाइसकेको स्रोतले जनायो ।
के भन्छ महानगर ?
काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जनले महानगरले पनि यस विषयमा अनुसन्धान गरिरहेको बताइन् ।
६ महिनाअघि नै सबै अध्ययन अनुसन्धान सकेर तयार भइसकेको प्रतिवेदनको मस्यौदा सार्वजनिक गर्नुभन्दा फेरि थप अध्ययन अनुसन्धान गर्ने काम भइरहेको जवाफ महानगरपालिकाले दिन्छ ।
महानगरले नास्टको प्रतिवेदन सार्वजनिक नगरी किन लुकायो भन्ने हाम्रो प्रश्नमा उनले भनिन्, “यसमा लुकायो भन्दा पनि यो विषयमा हामी पनि अनुसन्धान गर्दैछौँ । फेरि पनि पानीको टेस्ट लिने काम चाहिँ भइरहेको छ त्यसकारण पनि हाम्रो एक चरणको काम सकेपछि त सार्वजनिक गर्ने पर्छ ।”
साथै उनले विभागीय प्रमुख देश बाहिर भएका कारण अहिले नै यस विषयमा थप बोल्न नमिल्ने बताइन् । “१/२ दिनका लागि विभागीय प्रमुख मुलुक बाहिर हुनुहुन्छ । उहाँ आएपछि यस विषयमा के कसो गर्ने भन्ने तरिकारले अघि बढ्छौं । यो विषयमा एक पटक टेक्निकल मान्छेहरूसँग छलफल गर्छु । अहिले नै भन्न सकिँदैन,” उनले भनिन् ।