फूलपातीको अवसरमा आज तीन नेपाली फिल्म प्रदर्शनमा आएको छ । यो बर्षाकै प्रतिक्षित फिल्म ‘छक्का पन्जा– ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ देशभरका हलमा प्रदर्शनमा आएको हो ।
दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पन्जा’को सिरिजलाई निरन्तरता दिँदै दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले ‘छक्का पन्जा– ५’ बनाएका हुन् । फिल्मको यसअघिका सिरिजले व्यवसायमा रेकर्ड बनाउँदै आएकोले यसले पनि राम्रो व्यवसाय गर्ने अपेक्षा निर्माण पक्षको छ ।
यो फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी र मेक्सम गौडेल लगायतको अभिनय छ । फिल्मका कार्यकारी निर्माता निर्मल शर्मा र केदार घिमिरे ‘माग्ने बुढा’ छन् ।
१२ गाउँ एक्सन स्टार बिराज भट्टले निर्देशन गरेको फिल्म हो । फिल्ममा बिराज भट्टका साथै उनका छोरा समीर र न्यासी खड्काको समेत अभिनय छ । एक्सनले भरिपूर्ण फिल्ममा ‘१२ गाउँ’ नामक एक प्राचीन गाउँको अत्याचारी शासकविरुद्धको लडाइँको कथा ट्रेलरमा देखाइएको छ । फिल्ममा सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का र दिया मास्केलगायतको अभिनय छ।
ज्वाइँ साब जितु नेपालको मुख्य भुमिका रहेको फिल्म हो । फिल्ममा जितुको अलवा नीति शाह, बुद्धि तामाङ र शिवु पाण्डे अभिनय छ । वसन्त निरौला निर्देशित फिल्म रेड आई फिल्मसको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा निर्माण भएको हो । फिल्ममा प्रस्तुतकर्ता राजकुमार पण्डित हुन् ।