धनगढी । कैलालीको गौरीफन्टा नाकामा एक नेपाली प्रहरी कर्मचारीमाथि भारतीय नागरिकले हातपात गरेका छन् । प्रहरीको पोशाकमै रहेका ती हवल्दारमाथि भारतीय नागरिकले हातपात गरेको भिडियो हिजोआज सामाजिक सञ्जालमा भाइरल छ ।
भिडियोमा देखिएका प्रहरी हवल्दार डोकेबजार प्रहरी चौकीमा कार्यरत बिष्णु भुल रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताए । उनी ३ पुसमा उपचारका लागि भारत जान लागेका भाइलाई गाडी चढाउन गौरीफन्टा नाकाको पारीपट्टी भारतीय भूमिमा गएका थिए ।
सोही क्रममा उनीमाथि भारतीय नागरिकले हातपात गरेको बुझिएको डीएसपी डाँगीले बताए । ‘उनीमाथि हातपात गर्ने व्यक्ति चिनेजानेकै हो भन्ने बुझिएको छ । सुरुमा गलामा हात राखेर कुराकानी गरेको र पछि हातपात गरेको भन्ने कुरा आएको छ’, डाँगीले भने, ‘यो विषयमा थप बुझ्ने काम भइरहेको छ ।’