Saturday, March 15, 2025
spot_img
Homeगृहपृष्ठपोखराको लेकसाइडमा पर्यटकलाई नशालु पदार्थ खुवाउने युवाहरु पक्राउ

पोखराको लेकसाइडमा पर्यटकलाई नशालु पदार्थ खुवाउने युवाहरु पक्राउ

पोखरा– पोखरास्थित फेवातालको किनार (लेकसाइड)मा पर्यटकहरुलाई नशालु पदार्थ खुवाउने कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ। पर्यटकलाई नशालु पदार्थ खुवाउने लगायत कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको हो। 

केही युवाहरुले पर्यटकलाई नशालु पदार्थ सेवनका लागि दबाब दिने र नमानेमा बाटोमा हिँड्ने पर्यटक तथा मानिसलाई हैरानी गरी आतंकित बनाउने गरेको घटना सार्वजनिक भएपछि प्रहरीले लेकसाइडमा खोजी अभियान चलाएको थियो।

 जसक्रममा प्रहरीले पोखरा महानगरपालिका–१६ बस्ने २० वर्षीय डिलन श्रीस मगर, कास्कीको माछापुच्छ्रे–५ का २० वर्षको सन्देश विश्वकर्मा, पोखरा–६ बस्ने ३० वर्षीय सुरेश थापा, पोखरा–६ जरेवर बस्ने २९ वर्षीय महेन्द्र भण्डारी र गोराखको भीमसेन गाउँपालिका–८ बस्ने ३२ वर्षीय सुरेश थापालाई प्रहरीले पक्राउ गरेको हो। 

लेकसाइडमा नै नशालु पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

यस्तै, पोखराको लेकसाइडस्थित ४ नम्बर गल्ली अगाडि सडकमा मादक पदार्थ सेवन गरी महिलालाई अपशब्द प्रयोग गरी हातपात गर्न खोजेको आरोपमा पनि प्रहरीले १ जनालाई पक्राउ गरेको  छ। पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका–१२ घर घइ पोखरा महानगरपालिका–६ बस्ने २७ वर्षीय डेबिड भनिने डिल्ली प्रसाद पौडेल छन्। 

प्रहरीले पोखराको लेकसाइडमा मादक पदार्थ सेवन गरी होहल्दा गर्दै हिँडिरहेको अवस्थामा बागलुङको काठेखोला गाउँपालिका–५ घर भएका २६ वर्षीय बिक्रम थापा र स्याङ्जाको गल्याङ–१ घर भएका ३१ वर्षीय आशिष थापालाई पनि प्रहरीले पक्राउ गरेको छ। 

यस्तै, पोखराको चाइनापुलमा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा सोधपुछ गर्दा प्रहरीमाथि नै अपशब्द बोलेको आरोपमा पनि प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा–१४ बस्ने ३२ वर्षीय शिव बहादुर कार्की र पोखरा–९ बस्ने २७ वर्षीय शंकर भुजेल छन्। 

पक्राउ परेका १० जनालाई नै छुट्टा–छुट्टै अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।  

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू