काठमाडौं– काठमाडौंमा खानेपानीको हाहाकार भएयता दैनिकजसो नेता–मन्त्री सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची हेडवक्र्स पुग्छन् । आइतबारमात्र सभामुख देवराज घिमिरे मेलम्ची खानेपानीको हेडवक्र्स पुगेका थिए । सभामुख घिमिरेले त्यहाँको पानी चाँडो काठमाडौं पु¥याउन निर्देशन दिए । शनिबारमात्र काठमाडौं–५ का सांसद कांग्रेस नेता प्रदीप पौडेल हेडवक्र्स पुगेको थिए । ‘काठमाडौंका मानिसहरु अहिले पनि मेलम्चीको पानीको पर्खाइमा छन्,’ हेडवक्र्स क्षेत्र पुगेर उनले भने, ‘अस्थायी समाधान गर्न खासै गाह्रो देखिएन ।’
गत मंसिर १५ गतेमात्र खानेपानीमन्त्री महिन्द्र राय यादव पनि यहाँको पानी काठमाडौं ल्याउन हेडवक्र्स क्षेत्र अम्बाथान पुगेका थिए । यादवझैं यसअघिका खानेपानीमन्त्रीको पहिलो तीर्थ हुने गर्छ मेलम्ची । तर वर्षको कारण गत असारबाट मेलम्चीको पानी ठप्प भएपछि राजधानीलाई खानीपानी वितरणमा मुश्किल भएको छ
मन्त्रीहरु फोटो खिच्न पुग्ने तर खानेपानीको समस्या समाधान नहुने । यही प्रकरण दोहोरिन थालेपछि यसपटक खानेपानी मन्त्री यादवले यसको समस्याबारे विस्तृत बुझ्ने प्रयास गरे । पानी लिएरै आउने प्रतिबद्धतासहित केही दिन हेलम्बुमै बास बस्ने उद्देश्यले त्यता पुगेका मन्त्री भने निराश भएर भोलिपल्टै काठमाडौं फर्किसकेका छन् । पानी कसरी ल्याउने ? यादवलाई टाउको दुखाइ बनेको छ अहिले ।
मुद्दा र बक्यौताले समस्यामा
मेलम्ची यतिबेला मुद्दा र बक्यौताले समस्यामा परेको देखिन्छ । ‘सिएमसीको मुद्दा सिंगापुरमा चलिरहेको छ । भेण्डरवालाको ११ करोडभन्दा बढी तिर्न बाँकी रहेछ । सामान राख्न स्थानीयको जग्गा प्रयोग भएको रहेछ । तिनको भाडा पनि दिएको रहेनछ,’ मन्त्री यादवले मेलम्ची पुगेर भने । सिएमसी दी रेभेन्ना यसअघि काम नगरी भागेको इटालीको ठेकेदार कम्पनी हो । तर सिएमसीले उल्टै मेलम्ची खानेपानीलाई सात अर्ब रुपैयाँभन्दा बढी ज्याला मागदाबी गर्दै सिंगापुरमा मुद्दा हालेको रहेछ । एक वर्षअघि हालेको मुद्दा अहिले सिंगापुरमा चलिरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
समयमा पैसा नदिएको र सुरक्षा नदिएको कारण आफूहरुले आयोजना छाडेकोसमेत सिएमसीले दाबी गरेको छ । २०७५ मा सिएमसी भागेको थियो । सिएमसीले हात झिकेपछि स्थानीय ठेकेदार तथा व्यापारीहरुको करिब ११ करोड रुपैयाँ बक्यौता बाँकी थियो । यतिमात्र हैन, सिएमसीको सामान स्टोर गरी अझै राखिएको छ । ती स्टोरहरु भएको जग्गा व्यक्तिको भएको र भाडा नपाएको स्थानीयको गुनासोको पनि सुनुवाई भएको छैन । यी विषयले पानी आउन भने नरोकिने आयोजनाका सूचना अधिकारीसमेत रहेका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले बताए ।
किन रोकियो पानी ?
आयोजनाका अनुसार काठमाडौंमा अहिले पानी पठाउने भनेको अस्थायी रुपमा हो । पानी पठाउन ३८ नम्बर गेट तयारी अवस्थामा रहे पनि बाढीका कारण भित्री सुरुङमार्ग थुनिएको छ । ‘काठमाडौंमा पानी पठाउने सानो सुरुङसम्म बाटो पुगिसकेको छ, त्यहाँ पानी पुग्न एउटा ठूलो पाइपले जोडेको छ,’ पन्तले भने, ‘पाइप र सानो सुरुङ सफा गर्नुपर्ने हुन्छ ।’
पाइप र सानो सुरुङ सफा गर्न एक महिनाजति समय लाग्ने अनुमान छ । तर सफा कसरी गर्ने ? यसका लागि बोर्डले निर्णय गर्नुपर्छ । आयोजनाको बोर्ड निर्णय गर्न सक्ने अधिकार सम्पन्न नभएकोले अहिले यो सफाइ सुरु नभएको आयोजनाले जनायो । ‘सुरुङ २०० मिटरको हो । त्यहाँ पानी पठाउन ६० मिटर लामो पाइप पनि छ,’ पन्तले भने ।आयोजनाका अनुसार उक्त स्थान सफा गर्ने जिम्मेवारी सिनो हाइड्रोको हो । तर सिनोले यस्तो सानो काममा हात नहाल्ने भन्दै पन्छिँदै आएको छ । उक्त क्षेत्र सफा गर्न एक करोड रुपैयाँ लाग्ने अनुमान छ । सफाका लागि प्रक्रियामा जाँदा ३५ दिने म्याद दिएर टेण्डर निकाल्नुपर्ने हुन्छ । यसबारेमा मंसिरको अन्तिमसम्म कुनै निर्णय नभएको पन्तले जानकारी दिए ।स्थलगत भ्रमणमा पुगेका नेता प्रदीप पौडेलले भने सुरुङ सफा गर्ने विषय खासै ठूलो नदेखिएको बताए । ‘बाढीले जम्मा गरेको फोहोर धेरै फाल्नुपर्ने देखिएन । अलि प्रयास गरे छोटै समयमा खोल्न सक्ने देखियो,’ पौडेलले भने । पौडेलले बक्यौता भुक्तानी नपाएको विषय अहिले प्रमुख समस्याका रुपमा देखिएका तर्क गरे ।नयाँ हेडवक्र्स बनाउन चार वर्षभन्दा बढी समय र चार अर्ब रुपैयाँ लाग्ने अनुमान छ । यो आयोजनामा अहिलेसम्म ६१ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । मेलम्चीको पानी पहिलोपटक २०७७ चैत १५ मा राजधानीबासीका धारामा खसालिएको थियो । तर २०७८ असार र साउनको बाढीले आयोजनाको हेडवक्र्स नै पुरिएपछि पानी आउन बन्द भयो । क्षति भएको नौ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायीरूपमा फेरि पानी काठमाडौं ल्याउन थालिएको थियो । गत असारबाट भने पानी ठप्प रहेको छ ।