काठमाडौं, मङ्सिर ३० गते । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको अध्यक्षमा टेनिस रोका (टेकबहादुर रोका) निर्वाचित हुनुभएको छ । उपत्यका प्रदेश निर्वाचन समितिले शुक्रबार सम्पन्न मतदानको अन्तिम परिणाम आइतबार दिउँसो सार्वजनिक गरेको हो । महासंघको उपत्यका प्रदेश अन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला शाखाका मतदाताले मतदान गरेर नयाँ नेतृत्व चयन गरेका हुन् । अध्यक्ष पदमा निर्वाचित रोकाले ६४८ मत ल्याउनु हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी मोहनप्रसाद पन्तले ४१० मत पाउनुभएको छ ।

अध्यक्षका अर्का उम्मेदवार शिव बस्नेतले ९३ मत पाउनुभएको छ । उपत्यका प्रदेशको उपाध्यक्षमा रोजिना थापा ६८३ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कालिकाबहादुर महतले ४१६ मत पाउनुभएको छ । उपाध्यक्ष महिलातर्फ रमा न्यौपाने ६८८ मतसहित विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी सतिदेवी उप्रेतीले ३६३ मत पाउनुभयो । महासचिव पदमा आशिष गुरागाईं ५६७ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी रामचन्द्र दुलालले ५०९ मत पाउनुभएको छ ।
उपत्यका प्रदेशको सचिव पदमा अजित अधिकारी ६३१ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी अमिर लामा स्याङ्बोले ४४४ मत पाउनुभएको छ । समावेशी सचिवतर्फ प्रविण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ६१९ मत पाउनुभएको हो । उहाँका प्रतिद्वन्द्वी मोहन वल्लले २६३ मत ल्याउनुभएको छ । कोषाध्यक्षमा सन्जिप घिमिरे निर्वाचित हुनुभएको छ । उहाँले ४७७ मत पाउँदा उहाँका प्रतिस्पर्धी नीरज रञ्जीतले ३५२ मत पाउनुभएको छ ।

त्यसैगरी, खुला ६ जना सदस्यमा घनश्याम अधिकारी (वैरागी जेठा), चन्द्रजित मोक्तान, भिमराज खड्का, रनसुर महतारा, रामशरण काफ्ले र रोशन क्षेत्री विजयी हुनुभएको छ । महिला तीन जना सदस्यमा उमा शर्मा, विष्णुकुमारी पौडेल र रमिला पोखरेल (योञ्जन) निर्विरोध निर्वाचित हुनुभएको छ । दलित सदस्यतर्फ लिलामाया नेपाली विजयी हुँदा जनजाती सदस्यमा शैलेस डंगोल र सुरेश सायजु विजयी हुनुभएको छ । मधेशी र अल्पसंख्याक सदस्यमा क्रमश प्रदिप मण्डल र भक्ति शाह निर्विरोध निर्वाचित हुनुभएको छ ।