यही साउन १ गतेदेखि ७ गतेसम्म नाटक अनुत्तर मञ्चन हुने भएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा हरेक साँझ ५:३० बजे र अतिरिक्त शो १:३० बजे हुने गरी मञ्चन हुनेछ ।
सद्भाव थिएटर, नेपालले ल्याउने यो नाटकको लेखन तथा निर्देशन राम के.ए.सी.ले गरेका हुन् । यस नाटकको सह–निर्देशन सुशीला लक्ष्मी महर्जनको रहनेछ भने रङ्गकर्मी किरण चापागाईंको एकल प्रस्तुति रहनेछ ।
‘पछिल्लो समय, आवाजविहीनहरूको आवाज सत्तालाई कर्कश: लाग्न थालेको महसुस सर्वसाधारणले गर्न थालेका छन्, जुन हामीले वास्तवमा भोगिरहेको देश र हाम्रो यथार्थ नै हो,’ आयोजकले भनेका छन्, ‘युवाहरू, यो देशमा सपना देख्न मनाही रहेको अनुभूति गर्दैछन् । अतः यहाँ सपनाद्रष्टाहरूले पटमूर्खको पगडी गुथ्नु पर्छ, कि त उनले मरुभूमिको यात्रा तय गर्नुपर्ने हुन्छ । यो नाटक देश, जीवन र भविष्यसँगको मझधारमा धुल्मुलिएर आफैँ हराएका नागरिकता भिरेका अनागरिकहरूको सग्लो तस्बिर हो ।’