Home गृहपृष्ठ नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

0

काठमाडौँ । सरकारले नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोषको कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने, सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका-६ रुकुमपश्चिमका किरणबाबु पुनलाई नियुक्त गर्ने र नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
बैठकले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा। रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

Exit mobile version