कैलालीको लम्कीचुहा नगरपालिकामा आजदेखि आइतबारसम्म महोत्सवको आयोजना गरिएको छ । महोत्सवको आयोजना हुनभएपछि महोत्सवको लागि विद्यालय बन्द गर्न नगरपालिकाले उर्दी जारी गरेको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्त भण्डारीले एक सूचना जारी गर्दै महोत्सवका लागि १४ देखि १६ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई बन्द गर्न निर्देशन पर्दका हुन् । लम्की चुहा उद्योग वाणिज्य सङ्घको पत्रअनुसार स्थानीय बिदा दिएको उनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
‘यही मंसिर ६ देखि १६ गतेसम्म सञ्चालन भइरहेको लम्की महोत्सव २०८१ मा विद्यार्थीहरूका लागि विज्ञान प्रदर्शनी, विद्यार्थीहरूको विज्ञान प्रविधिबाट आविष्कार गरेका उपकरणको प्रदर्शनी तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता हुने भएको हुँदा १४ देखि १६ गतेसम्म स्थानीय बिदा दिएको जानकारी गराइन्छ’, नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
महोत्सवको समयमा विद्यालय बन्द गर्न निर्देशन दिँदै स्थानीय बिदा दिएको भन्दै धेरैले यसको विरोध गरेका छन् । नगरपालिकाकी प्रमुख सुशीला शाही अहिले वैदेशिक भ्रमणमा छिन् । यस्तै उपमेयर जुना चौधरीले बिदा सम्बन्धमा आफूलाई जानकारी नरहेको बताएकी छिन् । उनले साँझ ६ बजेसम्म बिदा दिने कुनै निर्णय नभएको बताएकी छिन् ।
नगरपालिकाका प्रवक्ता लव शाहीले भने महोत्सवमा विज्ञान प्रदर्शनी र विद्यार्थीहरूको नृत्यहरू पनि रहेको हुँदा उद्योग वाणिज्य सङ्घको आग्रहपछि बिदा दिइएको बताएका छन् ।