‘माया, तिमी यसलाई एक घटना संझ । विन्ती यसलाई दुर्घटना नसंझ । संझ सायद, यसरी छुट्नु नै भएको थियो भेट हाम्रो ।’
माथि उल्लेखित कविताको हरफ फागुनको २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘दुखी आत्मा’मा समावेश गरिएको छ ।
कवि श्रवण मुकारुङले लेखेका १० वटा कविताहरु यो चलचित्रमा समावेश छन् । जसमध्ये, यसको निर्माणपक्षले पहिलो कविता सार्वजनिक गरेको छ । जसलाई ‘ब्रेकअप कविता’को रुपमा सार्वजनिक गरिएको छ ।
सार्वजनिक कवितामा दयाहाङ राइको आवाज सुन्न पाइन्छ । सार्वजनिक भिडियोमा दया नायिका आँचल शर्माको अगाडि बसेर कविता सुनाइरहेका छन् । आँचल उनले सुनाएको कविता ध्यान दिएर सुनिरहेकी छिन् । यसले, चलचित्रमा दया कतै कविको भूमिकामा त छैनन् भन्ने पनि अड्कल लगाउन सकिन्छ ।
क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । फिल्ममा दीपेन्द्र लामाको लेखन तथा निर्देशन छ ।
सुदिप बराल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । चलचित्रमा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकारहरुको अभिनय छ ।
चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी छ । यो चलचित्रलाई निर्माणपक्षले एडल्ट ड्रामा भनेको छ ।चलचित्रको टिजर सार्वजनिक भएपछि यसको चर्चा ह्वात्तै बढेको छ ।