Home गृहपृष्ठ दसैँका लागि अग्रिम टिकट बुकिङ गर्न विहान ३ बजेदेखि लाइन

दसैँका लागि अग्रिम टिकट बुकिङ गर्न विहान ३ बजेदेखि लाइन

0

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात विभागसँगको छलफलअनुसार दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो । दशैं मनाउनका लागि राजधानीबाट देशका विभिन्न ठाउँमा फर्किनेहरुले अविरल वर्षको बीचमा पनि लाइन बसेर टिकट लिइरहेको दृष्यमा देख्न सक्नुहुन्छ ।

घटस्थापना आउन अब केही दिन मात्र बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । शुक्रबारदेखि नै मुलुकको सङ्घीय राजधानी काठमाडौँसहित देशभर अविरल वर्षा भइरहेपनि दशैं मनाउन घर फर्किनेहरु विहान सबेरै नयाँ बसपार्क पुगेर टिकट लिन लाइनमा बसिरहेको देखिन्छ ।

अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।

सरकारले अनलाइनमार्फत टिकट काट्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने बिहानैदेखि लाइनमा बसेका हुन्छन् । सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले बिहान ३ बजेदेखि नै अग्रिम टिकट बुकिङका लागि यात्रुहरु लाइन बस्नेगरेको बताए ।

हरेक वर्ष दसैँ मनाउनका लागि राजधानी काठमाडौँबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारीसाधनको टिकट भने घटस्थापनाबाट मात्र खुल्नेछ ।

Exit mobile version