काठमाडौं । तनहुँको सदरमुकाम दमौलीस्थित मुख्य चोकका बजारमा गए राति भीषण आगलागी भएको छ ।
व्यास नगरपालिका-३ मुख्य चोकस्थित फलफूल लाइनमा रहेका सटरमा गएराति १२ः४५ बजेदेखि आगलागी भएको हो । आगलागीबाट लाखौंको क्षति भएको अनुमान गरिएको छ। आगलागीका कारण यहाँका करिब २० वटा पसल पूर्णरूपमा जलेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए अनुसार तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरूपमा नियन्त्रणमा लिएको थियो ।
तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान ३ः४५ बजे आसपास आगलागी निभाएको प्रहरीले बताएको छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए ।
जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । यहाँ विभिन्न पसल सञ्चालनमा थिए ।
विद्युत् ‘सट’ हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।