काठमाडौं, पुस ९ गते । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति बिदेसिँदा मुलुकलाई क्षति भइरहेको बताउनुभएको छ । सोमबार उडान शैक्षिक केन्द्रले काठमाडौँमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताउनुभएको हो ।
मन्त्री साउदले चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री जस्ता धेरै पढेलेखेका मानिसहरू विदेशिरहेका भन्दै यसले देशको आर्थिक अवस्थालाई समेत असर परेको जानकारी दिनुभयो । उहाँले कामदारका रूपमा पनि बिदेसिने गरेका भन्दै क्षमतावान् व्यक्तिहरूले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने औँल्याउनुभयो ।
उहाँले देशको कुल जनसङ्ख्यामध्ये युवाहरूको जनसङ्ख्या धेरै रहेको उल्लेख गर्दै देशेको विकास र आर्थिक समृद्धि गर्ने उपयुक्त समय यही भएको बताउनु भयो । मन्त्री साउदले काम गर्ने जनसङ्ख्या कम हुँदै जाँदा देशको आर्थिक विकास गर्न नसकिने बताउनु भयो । उहाँले अहिले काम गर्ने समय भएको भन्दै सबैको ध्यानाकर्षण गराउनु भयो ।
मन्त्री साउदले राज्य व्यवस्था र कर्मचारीतन्त्रभित्र नयाँ पुस्ताको प्रवेश जरुरी रहेको बताउनु भयो । उहाँले राज्यका सबै क्षेत्रहरूमा दक्ष जनशक्ति उपलब्ध हुनुपर्नेमा जोड दिनुभयो ।