Wednesday, December 4, 2024
spot_img
Homeअपराध खबरतीन किलो सुन तस्करी प्रकरण : राजस्वलाई खबर गर्ने विशेष ब्युरोका असई...

तीन किलो सुन तस्करी प्रकरण : राजस्वलाई खबर गर्ने विशेष ब्युरोका असई निलम्बित

काठमाडौँ । रसुवाको केरुङ नाकाबाट तस्करी गरेर ल्याएको सुन लुटपाट भएको र भरियालाई अपहरण गरेको घटनामा प्रहरीको विशेष ब्युरोमा कार्यरत असईलाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरीक्षक सविन तिवारीलाई छानबिनका लागि निलम्बन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) दानबहादुर कार्कीले बताए ।

कन्टेनर चालक रामकृष्ण वाइबाले सुन ल्याउँदै गरेको जानकारी आफ्नो मामाको छोरा निमा छिरिङ तामाङलाई दिए । साउन २४ मा केरुङबाट तस्कर समूहले कन्टेनरको चालक सिटभन्दा माथिको बत्तीमा सुन लुकाएर पठाएका हुन् । निमाले त्यसबारे असई तिवारीलाई भनेका थिए । तिवारीले राजस्व अनुसन्धान विभागमा कार्यरत सशस्त्र प्रहरीका डीएसपी सञ्जय अधिकारीलाई जानकारी गराए ।

सञ्जय अधिकारीको टोली काठमाडौँमा पर्खिरहेको थियो । तर, रामकृष्ण वाइबाले चलाएको कन्टेनर काठमाडौँ आइपुग्दा सुन लुटिइसकेको थियो । त्यसपछि तस्कर समूहले रामकृष्ण वाइबा र निमा छिरिङ तामाङलाई अपहरण गरेर बुढानिलकलण्ठस्थित शैलजा रिसोर्टमा लगेर बन्धक बनाएर कुटपिट गरे ।

अपहरणमा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवा कांग्रेसका कोषाध्यक्ष नुर्पु सिंगी तामाङ सहित ४ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । असई तिवारीले सुन तस्करीको सूचना आफ्नो चेन अफ कमान्डमा रिपोर्ट नगरेर आचरण विपरीत काम गरेको हुनाले निलम्बन गरेर छानबिन थालिएको डीआईजी कार्कीले बताए ।

उनले भने– ‘चेन अफ कमान्ड छलेर प्रहरी कर्मचारीले अन्य निकायसँग साँठगाँठ गर्न मिल्दैन, उसको शैली प्रहरी कर्मचारीले गर्ने आचरण भन्दा फरक देखिएको छ ।’ जिल्ला प्रहरी परिसर काठमाडौँले भरियालाई अपहरण गर्नेमा संलग्नलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा नेपाली कांग्रेस रसुवाको जिल्ला कार्यसमितिका कोषाध्यक्ष नुर्पु सिंगी तामाङ, गोसाईंकुण्ड गाउँपालिका–१ थुमन घर भएका बुद्धि बहादुर तामाङ, गोसाईंकुण्ड–६ धुन्चे घर भएका टेम्पा नुर्पु तामाङ र कालिका गाउँपालिका–१ राम्चे घर भएका गोपाल तामाङ छन् । उनीहरू नेपाली कांग्रेसमा आबद्ध रहेको भेटिएको छ ।

सशस्त्रका डीएसपी र असईसँग बयान लिइँदै

अपहरण गरेको घट्नामा काठमाडौँ प्रहरीले राजस्व अनुसन्धान विभागमा कार्यरत सशस्त्र प्रहरीका डीएसपी सञ्जय अधिकारी र असई सविन तिवारीसँग बयान लिने भएको छ । अपहरणमा परेका रामकृष्ण वाइबा र निमा छिरिङले जाहेरीमा उनीहरूको नाम उल्लेख गरेको हुनाले उनीहरूसँग घटना विवरण कागज गराउन लागिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू