काठमाडौं – काठमाडौंको न्यूरोडस्थित राधाकृष्ण मन्दिरको जग्गा हडपेर ताम्राकार कम्प्लेक्स बनाइएको पाइएको छ ।
उक्त मन्दिर धार्मिक मात्रै नभएर पुरातात्विक सम्पदासमेत भएको स्थानीयहरूको भनाइ छ । तर, शुरुमा ३ आना २ पैसा ३ दाम क्षेत्रफलमा बनेको मन्दिर अहिले आइपुग्दा घटेर ३ आनाभन्दा पनि कम क्षेत्रफलमा रहेको छ ।
यसरी जग्गा घट्नुको मुख्य कारण हो सँगै बनेको ताम्राकार कम्प्लेक्स । कम्प्लेक्सका मालिक प्रदिपरत्न ताम्राकारले मन्दिरको जग्गा हडपेर भवन बनाएको नापी विभागबाट प्राप्त नक्सा हेर्दा प्रष्ट हुन्छ ।
उपलब्ध नक्सा तथा फिल्डबुकमा मन्दिरको जग्गा ३ आना २ पैसा ३ दाम तोकिएको छ । तर त्यहाँ पुगेर हेर्दा मन्दिर सो क्षेत्रफलमा बनेको देखिँदैन । वरपर मोबाइल पसल छन् । जसले मन्दिरलाई चारैतिरबाट घेरेका छन् ।
राधाकृष्ण मन्दिरमा अहिले नियमित पुजापाठ पनि हुन दिइएको छैन । मन्दिरको जग्गा मासेर कम्प्लेक्स खोलेका ताम्राकारले मन्दिरलाई नै सटर भित्र थुनेर राख्ने गरेका छन् । यसका साथै कम्प्लेक्सले २ पैसामा बनेको पुरानो इनार पनि मासेको पाइएको छ। नापी विभागद्वारा उपलब्ध फिल्डबुकमा इनार प्रष्ट रुपमा खुलाइएपनि त्यहाँ न त इनार नै छ न त इनारको खाली जग्गा नै ।
यस विषयमा ताम्राकारसँग कुरा गर्दा ‘मेरो जग्गा मसँगै छ बाँकी कुरा मलाई थाहा छैन् मैले गुठीसँग लिएको हो गुठीलाई सोध्नुस’ भने । यस विषयमा त्यहाँका स्थानीयसँग कुरा गर्दा पहिला पनि यस विषयमा विवाद उत्पन्न भएको र ताम्राकारले पैसा दिएर मिलाउने गरेको बताए । उनले नाम नबताउने शर्तमा यो विषय पहिलेदेखि नै विवादित रहेपनि पैसाको आडमा मिलाउँदै लगिएको दाबी गरे ।