तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित बरादी–हिलेखर्कस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
आँबुखैरेनी गाउँपालिका-६ छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका-९ गजौडे का १७ वर्षीया तुलसी गुरुङको दुर्घटनामा मृत्यु भएको हो । जीप अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल खसेको थियो। आसवीरको घटनास्थलमै र तुलसीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा आँबुखैरेनी गाउँपालिका-६ प्यूघरका १५ वर्षीया सुविना गुरुङ, सोही ठाउँका ६७ वर्षीय मनबहादुर गुरुङ, ३८ वर्षीया सुकमाया गुरुङ, छ वर्षीया एलिसा गुरुङ, १९ वर्षीया सविता गुरुङ र बन्दीपुर गाउँपालिका-३ सुखौरा बस्ने १० वर्षीय शिशिर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
आँबुखैरेनी-६ छापस्वाँराका ५६ वर्षीय सोमलाल गुरुङ, प्युघरफाँट बस्ने ७० वर्षीय भक्कुलाल गुरुङ, ५६ वर्षीय शेरबहादुर गुरुङ, ३६ वर्षीया आसमाया गुरुङ, १० वर्षीया दीक्षा गुरुङ, ५२ वर्षीय सेते गुरुङ, आँबुखैरेनी-१ गिरौनचौर बस्ने जीपचालक ३८ वर्षीय राजकुमार विश्वकर्मा, आँबुखैरेनी-६ छापस्वाँराका ३६ वर्षीया चिजकुमारी गुरुङ, १८ महिने सुसान गुरुङ, ३७ वर्षीया सुनिता गुरुङ घाइते छन् । उनीहरूको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।