डोल्पा जिल्लामा ‘कर्णाली अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ । गाउँ गाउँमा नेपाली सिनेमा, गाउँ गाउँमा पर्यटक’ भन्ने नारासहित आगामी भदौ २ गतेदेखि ५ गतेसम्म डोल्पामा यो फेस्टिभलको आयोजना हुन लागेको हो।
कर्णाली र आसपासका जिल्लामा पनि नेपाली चलचित्रको बजार विस्तार गर्ने उद्देश्यले यो फेस्टिभलको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नेत्र विष्टले जनाए । यो फिल्म फेस्टिभलमा नेपाली चलचित्रसङै केही विदेशी चलचित्रहरु पनि प्रदर्शन हुनेछन् । कर्णाली प्रदेश र डोल्पा जिल्लामै नेपाली चलचित्रको यस्तो कार्यक्रम पहिलोपटक हुन लागेको छ ।
चोया डिजिटल सोलुसनको आयोजनमा र सेलिब्रेटी नेपालको व्यवस्थापनमा हुन लागेको यो फेस्टिभलको ४७०० मिटरको उचाइमा उद्घाटन हुनेछ । प्रदर्शनी तथा अन्य अन्तरक्रियाहरू जगदुल्ला गाउँपालिकामा हुनेछ । कार्यक्रमको सह–आयोजकको रूपमा जगदुल्ला गाउँपालिका रहेको छ । फिल्म फेस्टिभलमा काठमाडौँबाट ख्यातिप्राप्त कलाकारहरूलाई डोल्पासम्म लगेर कार्यक्रममा सहभागी गराइने छ ।
कार्यक्रममा निर्देशक लक्ष्मण सुवेदी, निर्देशक राज ब.साने, निर्देशक लक्ष्मण सुनार, सेन्सर बोर्ड सदस्य भूपेन्द्र खड्का, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुबेर गिरीलगायतको उपस्थिति रहेको थियो ।