Home गृहपृष्ठ डिआइजी अर्जुन चन्दको राजीनामा प्रहरी प्रधान कार्यालयले गर्‍यो फिर्ता

डिआइजी अर्जुन चन्दको राजीनामा प्रहरी प्रधान कार्यालयले गर्‍यो फिर्ता

0

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले पदबाट दिएको राजीनामा प्रहरी प्रधान कार्यालयले फिर्ता गरिदिएको छ। राजीनामाको प्रक्रिया र ढाँचा नमिलेको भन्दै प्रधान कार्यालयले उनको राजीनामा पत्र फिर्ता गरिदिएको स्रोतले जानकारी दिएको छ। डिआइजी चन्दले गत शुक्रबार राजीनामा दिएका थिए। उक्त राजीनामा पत्र सोमबार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभाग पुगेको थियो।

यसबीचमा डिआइजी चन्दले आइजिपी बसन्तबहादुर कुँवरसँग भेटेका थिए। कुँवर र चन्द एउटै ब्याचका हुन्। आइजिपी कुँवरले राजीनामा फिर्ता लिन सुझाव दिएका थिए। साथै एआइजीहरूले पनि डिआइजी चन्दलाई राजीनामाबारे पुनर्विचार गर्न सुझाव दिएका थिए। आइजिपी र एआइजीहरूले राजीनामा नदिन सुझाव दिएपछि डिआइजी चन्द बिदामा बसेका छन्। प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘बिदा सकेपछि उहाँ जिम्मेवारीमा फर्कनुहुन्छ।’

विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी अधिकारीबीच कुटाकुट भएको घटनामा बनेको छानबिन समितिले प्रहरी अधिकारीलाई कारबाही सिफारिस गरेपछि डिआइजी चन्द असन्तुष्ट थिए।

Exit mobile version