रोशन कार्की
काठमाडौं । नेपालमा महको उपायोगिता बढ्दै गएपनि अस्पष्ट सरकारी नीति र सरकारी वेवास्ता कारण महको समेत अबैध रुपमा आयात भएको छ । सरकारी निकाय भन्सार विभागले केही कम्पनीले आयात गरेको महको रेकर्ड राखेपनि अधिकाशं महहरु अबैधरुपमा नेपाल भित्रने गरेको छ ।
सन् २००५ सम्ममा नेपाली मह युरोप निकासी हुने गरेको थियो । सरकारी नीति प्रष्ट नभएका कारण अहिले नेपालमा करोडौ मुल्यको मह आयात हुदै आएको छ । गत साउन १७ देखि भारतले निर्यात हुने महमा एनएमआर परीक्षण अनिवार्य गरेसंगै नेपालमा भारतलगायत अन्य देशबाट गुणस्तहिन महको आयातमा बृद्धि हुदै गएको भन्सार विभागको तथ्याङकबाट खुलेको छ ।
सरकारले ल्याउने नीति र व्यवसायीहरुकै अबैध साँठगाँठका कारण स्वदेशी महलाई भन्दा आयातीत महलाई प्रथमिकता दिदा देशको अर्थतन्त्रमा समेत धक्का लाग्न पुगेको छ । चालु आर्थिक बर्षको साउनदेखि मंसिरसम्म १३ करोड ८५ लाख रुपैयाँभन्दा बढीको मह आयात भएको तथ्यांकबाट स्पष्ट हुन पुगेको छ ।
भन्सार विभागको चालु आर्थिक वर्षको पहिलो ४ महिनाको तथ्यांकअनुसार नेपालमा विभिन्न देशहरुबाट मह आयात गर्नमात्र १४ करोड रुपैयाँ रुपैयाभन्दाबढी बाहिरिएको छ । नेपालमा स्विडेन, भारत, इजरायल, मेक्सिको, चीन, दुबई, बुल्गेरिया, मलेसिया, बेलायतलगायतका देशहरुबाट महको आयात हुने गरेको छ । भन्सार विभागको तथ्यांकअनुुसार यस अवधिमा नेपालबाट १९ लाख २५ हजार रुपैयाँबराबरको ६ सय ६५ किलो मह निर्यात भएको रेकर्ड रहेको छ ।
नेपालमा वार्षिक २ हजार टन अर्थात् क्षमताको दश प्रतिशत मात्रै मह उत्पादन हुनेगरेको छ । विस २०३२ सालदेखि सरकारले मौरीपालन कार्यक्रम सुरु गरे पनि अझै किसानहरू यसबाट आर्थिकरूपमा आत्मनिर्भर हुन सकेका छैनन् । नेपालमा लगानी नडुब्ने क्षेत्रका रुपमा मौरीपालन व्यवसाय चिनिएपनि यसको नीतिगत अस्पष्टताका कारण ठूलो लगानी हुन सकेको छैन ।
भारतबाट नेपालमा डाबर, पतञ्जली जस्ता ठुला कम्पनीहरुले मह आयात हुदै आएको छ । तर भारत सरकारले ती महहरु गुणस्तहिन भएको र मिसावट अत्याधिक भएको भन्दै कारबाही समेत गरेको छ । सन् २००९ मा नेपाल मेडिकल कलेजमा गरिएको अनुसन्धानमा विषालु महको सेवनका कारण आँखाको दृष्टि धमिलो हुने, बान्ता हुने र मुटुसम्बन्धी अन्य समस्या देखिएको समेत उल्लेख गरिएको छ ।
भारतको विज्ञान तथा वातावरण केन्द्र (सीएसई) ले भारतका चर्चित कम्पनीबाट उत्पादन गरेको डाबर र पतञ्जलीजस्ता मह गुणस्तहिन भएको प्रतिबेदन सार्वजनिक गरेको छ । सीएसईले १३ प्रमुख ब्राण्डका महमा अनुसन्धान गरेको थियो ।